३ आश्विन २०८१, बिहिबार

मन्त्री अर्यालले गरिन् मल खाद्य गोदामको अनुगमन, धान रोप्न मलको अभाव हुन नदिने प्रतिवद्धता

प्रकाशित मिति :  4 June, 2021 7:11 pm


काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताएकी छिन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन र निरिक्षण पश्चात् आयोजीत पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कोभिड-१९ को दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भए तापनि यो सिजनका लागि मलको कुनै अभाव नभएको दाबी गरिन्।

“यो सिजनको बाली लगाउने प्रयोजनका निम्ती साउनसम्म हामीसँग मल स्टक छ । अहिलेसम्मको तथ्यले र प्रमाणले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या छैनु,” मन्त्री अर्यालले भनिन, “मलको बितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौ ।कोभिडका कारण बितरणमा केही ठाउँमा समस्या देखिएको भन्ने कुरा आयो । त्यसलाई तत्काल समाधान गर्नेगरी हामी अगाडी बढिसक्यौं अहिले त्यो समस्या पनि समाधान भइसक्यो ।”

कोभिड दोस्रो लहरको प्रकोपका कारण बन्द भएको अवस्थामा बितरणमा समस्या देखिएको गुनासो र टिप्पणी आएपनि अहिले त्यसको समाधान भइरहेको बताइन् । यस विषयमा मन्त्रीपरिषद्मा समेत छलफल गरेर समाधान भइरहेको जानकारी दिइन ।

आफू मन्त्रालयको नेतृत्वमा आएदेखी नै निरन्तर रुपमा मलको अवस्थाका बारेमा छलफल गर्दै त्यसको व्यवस्थापनमा जुटेको भन्दै मन्त्री अर्यालले मलको बितरण गर्दा दैनिक आपुर्ती र बितरणको अवस्था अद्यावधिक गर्न कृषि सामग्री कम्पनीलाई निर्देशन दिएकी छिन्। कोभिडका कारण बन्द रहेको अवस्थामा पनि किसानले गुनासो गर्ने ठाउँ नराखिकन मलको आपुर्तीमा ध्यान दिन उनले कर्मचारीहरुलाई समेत निर्देशन दिएकी हुन् ।

कर्मचारीहरुलाई निर्देशन दिदै उनले भनिन, “कोभिड संक्रमणलाई समेत ध्यानमा राखेर कर्मचारीहरुको स्वास्थ्यको समेत ख्याल गर्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर किसानलाई नियमित रुपमा मल बितरण कार्यमा लाग्नुस, फलाना ठाउँमा जाँदा मल पाइएन भन्ने ढंगले किसानको गुनासो आउने अवस्थाको सिर्जना नहोस् ।यसमा तपाइहरु सचेत रहनुहोला ।”

मल बितरण गर्दा कृषकहरुको पहिचान सहित मल वितरण गर्न निर्देशन दिँदै मन्त्री अर्यालले सहकारी संस्थाहरुले मल लैजाने सन्दर्भमा एकचोटी मल लगिसकेपछी त्यसको उचित वितरणको अवस्था, मूल्य खुल्ने व्यवस्थित दस्तावेज सहित माग गर्न आउनेलाई मात्र पुनः मल उपलब्ध गराउन निर्देशन दिएकी छिन्।

मलको समस्या दीर्घकालका लागि समेत समाधान गर्न सरकार निरन्तर लागिरहेको भन्दै मन्त्री अर्यालले त्यसैका निम्ती मल कारखाना स्थापना गर्ने प्रकृया अगाडी बढेको बताइन । मल कारखानका लागि सरकारले बजेटको समेत व्यवस्था गरिसकेको भन्दै उनले यस योजनालाई सफल बनाउन सबै लाग्नुपर्ने बताइन ।

आफ्नै पालामा उत्तरी नाकाबाट समेत मल ल्याउन सफल भएको भन्दै उनले मलको व्यवस्थाका निम्ती भारतसँग सम्झौता गर्ने प्रकृयामा रहेको जानकारी दिइन । भारतसँगै बंगलादेश, चीन, ओमान लगायतका देशहरुसँग समेत मलको विषयमा छलफल अगाडी बढेको भन्दै मन्त्री अर्यालले ती देशहरुबाट सकारात्मक सन्देश प्राप्त भएको बताइन ।

कति छ स्टक 

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले हाल रासायनिक मलको समस्या नरहेको बताएका छन् । मलको हालको अवस्थाको बारेमा जानकारी दिँदै शुक्रबार यी दुई कम्पनीले मलको समस्या नरहेको जानकारी दिएका हुन्।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग गरी हाल जम्मा ३५ हजार २ सय ९० मेट्रिक टन यूरिया, ५३ हजार ७ सय ३० मेट्रिक टन डिएपी, ८ हजार ४२ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन रासायनिक मल मौज्दात रहेको जानकारी दिएको हो । त्यस अवसरमा ६५ हजार मेट्रिक टन यूरिया मल मार्गस्थलमा रहेको र असार महिनाभित्रै प्राप्त हुने अवस्था रहेको बताएका छन् ।

जम्मा मौज्दात रहेको रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग २० हजार ८६ मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६ मेट्रिक टन पोटास र ४ सय ४४ मेट्रिक टन कृषि चुन मौज्दात रहेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल १५ हजार २ सय ४ मेट्रिक टन यूरिया, १४ हजार ४ सय ४४ मेट्रिक टन डिएपी र ३ हजार ८ सय ९६ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात रहेको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी उर्मिला श्रेष्ठले जानकारी दिइन ।



प्रतिक्रिया दिनुहोस !