६ आश्विन २०८१, आइतबार

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति विवादमा, नेता गौतमले भने,‘स्वीकार्य हुन सक्दैन’

प्रकाशित मिति :  5 June, 2021 3:02 pm


काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको भनाईप्रति आपत्ति जनाएका छन् ।

महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको बताएको भन्दै गौतमले आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्,“ नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु ।”

नेता गौतमले उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता रहेका महतोले अहिले पनि संचालन गरिरहेको आन्दोलनलाई ‘कथित आन्दोलन’ भन्दै यसले नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा गौतमले भनेका छन्,“नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।”

गौतमले थप भनेका छन्,“राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।”

हिजो मात्रै उपप्रधान तथा सहरी विकास मन्त्रीमा नियुक्त भएका महतोले पदभार ग्रहण गरेलगत्तै आफूले अहिलेपनि नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन जारी राखेको र सरकारमा बसेर त्यसको तयारी गर्ने प्रतिक्रिया दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !