७ पुस २०८१, आइतबार

सबै एलपी ग्यास उपभोक्तालाई छुट दिन उद्योगी तयार

प्रकाशित मिति :  6 June, 2021 9:18 am


काठमाडौं । खाना पकाउने ग्यास (एलपीजी) उद्योगीहरूले सरकारले निषेधाज्ञा अवधिमा एउटा कम्पनी विशेषको ग्यासमा मात्रै छुट दिने भनेर विभेद सिर्जना गरेको भन्दै सरकारले निर्णय गरे देशभरिका सबै उपभोक्तालाई छुट दिन तयार भएको बताएका छन् ।

“सरकारले बजेट भाषणबाट एससीटी ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । यसले ग्यासका उपभोक्ताहरूबीच विभेद सिर्जना भएको छ,” एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले भने, “एससीटी ग्यासका उपभोक्ता काठमाडौं उपत्यकामा र त्यो पनि कुल ग्राहकको १ प्रतिशतमात्र छन । यस्तो नीतिले उपभोक्तालाई फाइदा पुग्दैन ।”

अहिले देशका करिब सबै जिल्लामा निषेधाज्ञा लागेको र देशैभरिका नागरिक यसका कारण प्रभावित भएको भन्दै घिमिरेले यदि सरकारले मन्त्रिपरिषद्‌बाट निर्णय गरेर २० प्रतिशत छुटबराबर अनुदान दिने वा नेपाल आयल निगमलाई पीडीओवापत तिर्नुपर्ने रकममा समायोजनको निर्णय गरिदिएमा देशभरिकै उपभोक्तालाई छुट दिन सकिने बताए ।

एलपी ग्यास उद्योग संघका अनुसार देशभरि रहेका ५८ मध्ये ३२ वटा उद्योगले काठमाडौंमा खाना पकाउने ग्यास आपूर्ति गर्दै आएका छन् । “छुटका लागि सरकारले नै निर्णय गरेर त्यसका लागि कार्यविधिसमेत बनाइ दिनुपर्छ । त्यसो भएमा छुटबापतको अनुदान वा अन्य सहुलियतको दुरुपयोग हुने सम्भावना कम हुन्छ,” संघका निवर्तमान अध्यक्ष घिमिरेले भने ।



प्रतिक्रिया दिनुहोस !