राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा कलाकारका लागि राहत वितरण सुरु
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले ‘आफू बच्ने र अरुलाई पनि बचाउने’ अभियान सुरु गरेको छ ।
अभियान अन्तर्गत पहिलो चरणमा प्रतिष्ठानसँग आवद्ध कलाकारहरूलाई निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गरेको जनाएको छ ।
प्रतिष्ठान केन्द्र र दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको संयुक्त आयोजनामा प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरूलाई आजदेखि चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।
अभियानको पहिलो चरणमा वितरण गरिएको सम्पूर्ण सामग्री प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा उपलब्ध भएको अध्यक्ष बिजीले जानकारी दिए ।
कोरोना भाइरस दोस्रो लहरका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाकापछि आफ्नो रोजगारी गुमाएर एक छाक खान समस्या परेका कलाकारहरूलाई प्रतिष्ठानको तर्फबाट केही भएपनि राहत मिलोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको उनले बताए ।
अध्यक्ष बिजीले पहिलो चरणमा प्रतिष्ठानमा आवद्ध कलाकारहरूलाई राहत वितरण गरिए पनि आगामी दिनमा प्रतिष्ठानमा आवद्ध नभएका तथा कलाकारितामा लागेर महामारीको चपेटामा परेका कलाकार र पत्रकार एवं सञ्चारकर्मीहरू पनि प्रतिष्ठानको सम्पर्कमा गएको खण्डमा राहत उपलब्ध गराउने बताए । साथै, उनले अशक्त तथा नेत्रविहीनहरूलाई पनि सहयोग गर्न प्रतिष्ठान तयार रहेको बताए ।
यो महामारीको बेला आफू बाँच्ने र अरुलाई पनि बचाउन पर्छ भन्ने उद्देश्यका साथ प्रतिष्ठानले यो अभियान सुरु गरेको अध्यक्ष बिजीको भनाइ छ । कोरोनाको महामारी र निषेधाज्ञा अन्त्य नहुँदासम्म प्रतिष्ठान केन्द्र र उपत्यका समन्वय समितिको संयुक्त यो अभियान चलिरहने उनले बताए ।
उपत्यका समन्वय समितिको अध्यक्षमा सुजन लम्सालले नेतृत्व गरेका छन् । पहिलो चरणको राहत वितरणको दिन करिव पाँच सय जनाले नाम दर्ता गराएको अध्यक्ष बिजीले जानकारी दिए । अझै पनि त्यस्तो समस्या भोगीरहेकाहरुलाई सम्पर्कमा आउन उनले आग्रह गरेका छन् ।