६ आश्विन २०८१, आइतबार

ओलीद्वारा पार्टी एकताका लागि आह्वान, संगठनलाई २०७५ जेठ ३* गते अगाडि फर्काउने घोषणा

प्रकाशित मिति :  6 June, 2021 9:38 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताबद्धताका लागि आह्वान  गर्दै संगठनलाई जेठ २ गते अगाडि फर्काउने घोषणा गरेका छन् ।

अध्यक्ष ओलीले आज बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पक्षले उठाएको सबैभन्दा महत्वपूर्ण माग संगठनलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने अडानलाई सम्बोधन गरेका छन् ।

अध्यक्ष ओलीले भनेका छन्,“नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।”

अध्यक्ष ओलीले थप भनेका छन्,“मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् । सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।”

आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने अध्यक्ष ओलीको शर्त छ । यस बीचमा विभिन्न नेताहरुबाट भएका गल्ती तथा कमी कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव नगरिने ओलीले प्रष्ट पारेका छन् ।

पार्टी एकताको मुख्य आधार पार्टीका स्थापित सिद्धान्त र नीति, विधि र पद्धति एवं मूल्य र मान्यताहरु भएको भन्दै अध्यक्ष ओलीले राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रविन्दुमा राखेर असल मनशायले अगाडि बढ्ने हो भने समस्याहरु समाधान हुन नसक्ने आफूले कुनै कारण नदेखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,“ त्यसका लागि सबैभन्दा पहिले हामी एक ठाउँमा उभिन जरुरी छ । एकताको लक्ष्य राखेर सकारात्मक र सिर्जनात्मक योगदान गर्न आवश्यक छ ।”

*सच्चाइएको 



प्रतिक्रिया दिनुहोस !