६ आश्विन २०८१, आइतबार

एमाले जेठ ३ पूर्वकै सांगठनिक संरचनामा फर्किए माओवादी केन्द्रबाट आएका नेताको हैसियत के हुन्छ ?

प्रकाशित मिति :  6 June, 2021 10:29 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालपक्षसँग एकता कायमै राख्नका लागि संगठनलाई २०७५ जेठ ३ गतेको पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

यो भनेको तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता गर्नुभन्दा पहिलेको अवस्थामा फर्कने भनिएको हो । नेकपा एमाले जेठ ३ पूर्व अर्थात जेठ २ सम्मको अवस्थाबाट आफ्नो सांगठनिक गतिविधि अगाडि बढाउने छ ।

अहिले महाधिवेशनका लागि भन्दै आयोजक कमिटी गठनको अवस्थामा नेकपा एमालेको संगठन छ । यसबाट नेपाल पक्ष बाहिरिएको छ । ओलीको घोषणा कार्यान्वयन भए एमाले नवौ महाधिवेशनबाट बनेकै संरचनामा पुग्ने छ ।

तर, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्वोच्च अदालतको फैसलाबाट विघटन भएर एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि माओवादी केन्द्रका कतिपय नेता एमालेमै रहेका छन् ।

कतिपय नेताले सांगठनिक जिम्मेवारी समेत पाएका छन् । त्यसो भए पूर्वमाओवादी केन्द्रका नेताको अवस्था के हुन्छ भन्ने स्वभाविक प्रश्न उठ्छ । तर ओलीले पार्टी जीवनलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणासँग पूर्व माओवादी नेताहरुलाई पनि सम्बोधन गरेका छन् ।

उनले प्रष्ट भनेका छन्, “नेकपा (एमाले)लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।”

नेकपा हुँदा पार्टी अन्तरसंघर्षमा साथ दिने माओवादी केन्द्रबाट आएका नेतालाई ओलीले बलियोसँग च्याप्दै आएका छन् । उनले पटक पटक मन्त्री बनाएका थिए तर पछिल्लो पटक सर्वोच्च अदालतको फैसलापछि मात्रै पूर्वमाओवादी केन्द्रका ७ नेता पदमुक्त भएका थिए ।

माओवादी केन्द्रबाट एमालेमा आएकामा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा,प्रभु साह लगायतका नेता रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट नेकपा एमालेमा विभिन्न तहका झण्डै २ सय नेता आएको अनुमान छ । अध्यक्ष ओलीले एमालेलाई पूर्ववत अवस्थामै फर्काएपनि माओवादी केन्द्रबाट आएकालाई सुरक्षित गर्न खोजेको प्रष्ट देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !