७ आश्विन २०८१, सोमबार

नेपाल पक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने,ओलीलाई लिखित जवाफ दिने

प्रकाशित मिति :  7 June, 2021 4:42 pm


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दिएको निवेदनमा गरेको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।

आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको हो । बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिनुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संगठनलाई २०७५ जेठ ३ भन्दा पहिले फर्काउन तयार रहेको भन्दै सर्वोच्च अदालतमा बुझाईएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए । तर नेपाल पक्षले त्यसलाई अस्वीकार गरेको छ । ओलीले हिजो प्रस्ताव राखेसँगै नेपाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावमा भनेका थिए,“आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुने छ । यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।”

तर नेपाल पक्षले भने ओलीको प्रस्ताव नमान्ने निर्णय गर्दै लिखित जवाफ फर्काउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !