३ आश्विन २०८१, बिहिबार

वार्षिक ३५ हजार टन भटमास उत्पादन, १ लाख ८० हजार टन भटमास तेल निर्यात !

प्रकाशित मिति :  7 June, 2021 5:35 pm


काठमाडौं । हालैमात्र प्रधानमन्त्री केपी ओलीले देशको निर्यात पहिलो पटक १ खर्ब नाघेको भन्दै आफ्नो उपलब्धीमा गणना गराए, त्यसको ३३ प्रतिशत हिस्सा भटमासको तेलले मात्र ओगटेको र त्यो पनि नेपालको कच्चा पदार्थ उत्पादन नै प्रयोग नहुने उत्पादन भएको पाइएको छ ।

कृषि मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/७८ मा देशभरि ३४ हजार ८३३ मेट्रिक टन भटमास उत्पादन हुने अनुमान गरेको छ, जबकी आर्थिक वर्षको १० महिनामै १ लाख ८० हजार ५८० टन भटमासको तेल (सोयाबिन आयल) नेपालबाट भारत निर्यात भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कोसेबाली अनुसन्धान कार्यक्रमका कृषि वैज्ञानिक अनुसार एक किलो भटमासबाट औसत २०० ग्रामजति मात्र तेल निस्कन्छ । “नेपालमा उत्पादन भएको भटमास यहाँका दाना उद्योग र केही खाद्य उद्योगलाई नै पुग्दैन, तेल उत्पादन त पछिको कुरा हो,” कृषि वैज्ञानिक डा. राजेन्द्र दराई भन्छन् ।

आन्तरिक उत्पादनले नपुगेपछि भटमास दानदेखि कच्चा भटमासको तेलसमेत अन्य मुलुकबाट आयात गरि यहाँ न्यून मूल्य अभिवृद्धि गरि आन्तरिक बजारमा बेच्नेदेखि निर्यातसमेत गरिन्छ । विज्ञहरूका अनुसार भटमास दाना ल्याएर यहाँ निकै न्यूनमात्रै प्रशोधन गरि तेल उत्पादन गरिन्छ ।

नेपालमा अर्जेन्टिना, ब्राजिल, इजिप्ट, युक्रेन, टर्की, इन्डोनेसिया, पाराग्वे, चीनलगायतका देशबाट अर्धतयारी भटमासको तेल (क्रुड सोयाबिन आयल) आयात गरेर सामान्य प्रशोधन गरि आन्तरिक खपतका साथै भारत निर्यात गरिन्छ ।

चालू आर्थिक वर्षको पहिलो १० महिनामा २ लाख ८८ हजार ६२५ मेट्रिक टन क्रुड सोयाबिन आयल आयात भएकोमा १ लाख ८० हजार ५८० टन सोयाबिन आयल भारत निर्यात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ ।

मूल्यमा नेपालले १० महिनाको अवधिमा ३९ अर्ब ४६ करोड रुपैयाँबराबरको कच्चा भटमासको तेल आयात गरेकोमा ३५ अर्ब ७५ करोड रुपैयाँबराबरको निर्यात गरेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको विवरणमा उल्लेख छ ।

गत वर्ष यही समयमा पाम आयल पनि नेपालको प्रमुख निर्यात वस्तुको सूचीमा भएकोमा भारतले पाम आयल आयातमाथि नियन्त्रण गरेपछि अहिले सोयाबिन तेलको निर्यात उचालिएको हो । गत आर्थिक वर्षको पहिलो १० महिनामा १८ अर्ब ३१ करोड रुपैयाँ मूल्यबराबरको पाम आयल निर्यात भइ पहिलो स्थानमा थियो भने अहिले भटमासको तेल पहिलो नम्बरमा छ ।

गत वर्ष पहिलो १० महिनामा ८ अर्ब ३६ रुपैयाँ मूल्यबराबरको भटमासको तेल निर्यात भएकोमा यो वर्ष ३५ अर्ब ७५ करोड रुपैयाँबराबरको निर्यात भएको छ । पाम आयल भने ४४ करोड रुपैयाँको निर्यातमा खुम्चिएको छ, जबकी यो १० महिनाको अवधिमा साढे ५ अर्ब रुपैयाँ बराबरको अर्धप्रशोधित पाम तेल आयात गरिएको छ, गत वर्षको यही अवधिमा करिब १७ अर्ब रुपैयाँबराबरको अर्धप्रशोधित पाम तेल आयात गरिएको थियो ।

भारतमा नेपाल र बंगलादेशबाट भारत हुने सोयाबिन र पाम आयलको निर्यातबारे लामो समयदेखि प्रश्न उठाउँदै आइएको छ ।

साढे ११ अर्बको भटमासको मस्यौरा आयात

नेपालीहरूले भटमासका तेलमात्रै होइन, त्यसको तेल निकालेर बाँकी हुने खोस्टा मस्यौरा (न्युट्रिला वा सोयाबडी) पनि ठूलो अनुपात आयात गरेर खाने गरेका छन् । चालू आर्थिक वर्षको १० महिनामा साढे ११ अर्ब रुपैयाँ मूल्यबराबरको १ लाख ८४ हजार ४८८ टन भटमासको पिना आयात गरिएको छ भने यही अवधिमा ९ लाख ६० हजार रुपैयाँ मूल्यबराबरको २० हजार को भटमासको पिना निर्यात भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !