७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने

प्रकाशित मिति :  8 June, 2021 3:38 pm


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ जेठमा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री गुरुङले आज प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनका लागि प्रस्ताव दर्ता गराएको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजंग केसीले जानकारी दिएका छन् ।

यसअघि पदबाट राजीनामा दिएका मन्त्री गुरुङलाई फेरि ठूलो दलको नेताको हैसियतमा वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । गुरुङ मुख्यमन्त्रीमा कायम रहन ३१ सांसदको साथ चाहिन्छ । गण्डकी प्रदेशमा नेकपा (एमाले)का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

कांग्रेस, माओवादी, जनमोर्चा र जसपाले गठबन्धन बनाएर यसअघि नै मुख्यमन्त्रीको विपक्षमा उभिसकेका छन् । जनमोर्चाका सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङको पक्षमा छन् ।

मन्त्री बनिसकेका स्वतन्त्र सांसद दीपक मनाङ्गे पनि मुख्यमन्त्री गुरुङकै पक्षमा छन् । मुख्यमन्त्री गुरुङलाई विश्वासको मत प्राप्त गर्न कम्तिमा २ मतको अभाव हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !