३ आश्विन २०८१, बिहिबार

नेपालको अर्थतन्त्र खुम्चने क्रम जारी : विश्व बैंक

प्रकाशित मिति :  8 June, 2021 8:12 pm


काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पनि नेपालको अर्थतन्त्र कोभिड-१९ महामारीका कारण खुम्चिएको जनाएको छ ।

बैंकका अनुसार गत आर्थिक वर्ष२०७६/७७ को अन्तिम चौमासिकमा नेपालको अर्थतन्त्र १५.१ प्रतिशतले खुम्चेकोमा चालू आर्थिक वर्षको २०७७/७८ को पहिलो चौमासिकमा ४.६ प्रतिशतले खुम्चेको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने विश्व बैंकले संशोधित अनुमान गरेको छ, यो गत जनवरीमा गरिएको प्रक्षेपणका तुलना २.१ प्रतिशत बढी हो ।

बैंकले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स-२०२१’मा नेपालसहित विश्वव्यापी वृद्धि प्रक्षेपण संशोधन गरिएको हो । गत जनवरीमा सार्वजनिक गरिएको सोही प्रतिवेदनमा गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहेको उल्लेख भएकोमा अद्यावधिक संस्करणमा गत वर्षको वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक रहेको उल्लेख छ ।

यस्तै, जनवरीमा गरिएको प्रक्षेपणमा चालू वर्षको वृद्धिदर ०.६ प्रतिशतमात्र रहने उल्लेख भएकोमा संशोधित प्रक्षेपणअनुसार यस वर्ष २.७ प्रतिशतको वृद्धिदर हासिल हुनेछ । यो एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्य मुद्रा कोष (आईएमएफ) ले गरेको प्रक्षेपणको तहमा हो ।

बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा करिब ४ प्रतिशतको वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ, यो सरकारको अनुमानभन्दा निकै कम हो । अर्थमन्त्री विष्णु पौडेलले हालै अध्यादेशबाट सार्वजनिक गरेको बजेटले आगामी वर्ष ६.५ प्रतिशतको वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ ।



प्रतिक्रिया दिनुहोस !