निषेधाज्ञामा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन र सक्ने व्यवसायीले राजस्व बुझाउन अपील
काठमाडौं । निजी क्षेत्रका तीन संस्थाले निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन सरकारसँग माग गरेका छन् । साथै सक्ने व्यवसायीलाई राजश्व बुझाउन पनि अपिल गरेका छन् ।
आज संयुक्त अपिल जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले दोस्रो लहरले देशभर झण्डै ७० प्रतिशत उद्यम व्यवसायी प्रभावित भएको भन्दै सहुलियत प्रदान गर्न सरकारलाई आग्रह गरेका हुन् ।
२०७८ जेठ १५ गते सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत आर्थिक पुनरूत्थान र निजी क्षेत्रको विकासका लागि निजी क्षेत्रले उठाएका धेरै विषय सम्बोधन भएको भन्दै तीनवटै संस्थाले सरकारको बजेटको मुख्य स्रोत पनि निजी क्षेत्र नै भएकाले उद्यम व्यवसाय फस्टाउने वातावरण आवश्यक भएकोतर्पm सरकारले मनन् गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,“यसै बीचमा आएको कोभिडको दोस्रो लहरले आर्थिक पुनरूत्थानको संयुक्त प्रयासमा गम्भीर धक्का लाग्न गयो । यही अवस्था लामो समय रह्यो भने सरकारको राजस्व असुलीमा समेत निकै ठूलो चाप पार्ने हाम्रो अनुमान छ र आगामी आर्थिक वर्षका लागि लक्ष्य गरिएको १० खर्व २४ अर्ब रुपैयाँको राजस्व असुली चुनौतीपूर्ण देखिन्छ ।”
कोभिड महामारीको असर देखिन थालेको डेढ बर्षको अवधिमा सरकार र निजी क्षेत्रबीचको सहकार्यले पुनरूत्थानमा केही सहयोग पुग्न गएको उल्लेख गरिएको छ ।
आगामी दिनमा पनि अवसर र जोखिम बाँडेरै यो महामारी र आर्थिक मन्दीबाट माथि उठ्न सकिने निजी क्षेत्रको विश्वास रहेको अपिलमा उल्लेख छ । तर अहिलेको विषम परिस्थितिका कारण एकातिर उद्योग व्यवसाय संचालन हुन सकेका छैनन् भने जेनतेन चलेका उद्योग व्यवसायका उत्पादन पनि निर्वाध बजारसम्म पुर्याई बिक्री वितरण गरी रकम सङ्कलन गर्न सकिएको अवस्था नरहेको पनि अपिलमा भनिएको छ ।
संयुक्त अपिलमा भनिएको छ,“यसकारण, निषेधाज्ञाले आवागमन समेत अवरुद्ध हुंदा मासिकरूपमा बुझाउनुपर्ने मुल्य अभिवृद्धि कर, अन्त:शुल्क लगायतको विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति छैन । यो विषम अवस्था समेतलाई मनन गरीे कर राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन हामी सरकारसँग अनुरोध गर्दछौं ।”
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त रुपमा जारी गरेको अपिलमा व्यवसाय संचालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई गत बर्षजस्तै समयमा राजस्व बुझाएर आप्mनो दायित्व पुरा गरी सरकारलाई सहयोग गर्न पनि अपिल गरिएको छ ।