७ आश्विन २०८१, सोमबार

कांग्रेस सभापति देउवाले भने,‘आगामी भदौमा पार्टी महाधिवेशन हुन्छ, म प्रतिबद्ध छु’

प्रकाशित मिति :  9 June, 2021 5:25 pm


काठमाडौं । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टी महाधिवेशन हुने प्रष्ट पारेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी भदौमा महाधिवेशन हुने र यसमा आफू प्रतिबद्ध भएको बताएका हुन् ।

उनले भनेका छन्,“म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।”

महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको भन्दै सभापति देउवाले भनेका छन्,“पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् । महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो ।”

सभापति देउवाल असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्ने र पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्ने उल्लेख गरेका छन् ।

सभापति देउवाले यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका र पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताका छन् ।

सभापति देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरु, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरु, विदेश स्थित जनसम्पर्क समितिका साथीहरुलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !