७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै, दिपक मनाङेको मत निर्णायक

प्रकाशित मिति :  10 June, 2021 7:37 am


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदैछन् ।

आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा गुरुङले विश्वासको मत लिन लागेका हुन् । मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरूङ (दीपक मनाङे) ले कित्ता परिवर्तन गरेको चर्चा चलेसँगै गुरुङले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ ।

गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका मनाङेले ‘प्रदेश सभा विघटन हुन नदिन’ भन्दै विपक्षी गठबन्धनलाई साथ दिने बताएका छन् ।
विश्वासको मत लिनुअघि हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठमामा समेत मनाङे सहभागि थिएनन् ।

यदि मन्त्री मनाङेले आफ्नो अडानमा कायमै रहे विपक्षी गठबन्धनले बहुमत पुराउने छ र गुरुङ नेतृत्वको सरकार ढल्ने छ । सरकारले पनि बहुमत पुराउने र विपक्षी गठवन्धनलेपनि बहुमत नपुराउने अवस्थामा प्रदेश सभा विघटनको जोखिम छ ।

गण्डकी प्रदेश सभाको जम्मा सदस्य संख्या ६० हो । सरकार जोगिनका लागि ३१ सांसदको आवश्यक हुन्छ । प्रदेश सभामा मुख्यमन्त्री गुरुङको पार्टी नेकपा एमालेका २७ सांसद छन् ।

सर्वाेच्च अदालतको फैसलाबाट पुनर्बहाली भएका र यसअघि साथ दिँदै आएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मत दिँदा पनि मुख्यमन्त्री गुरुङको पक्षमा जम्मा २८ मत पुग्छ ।

विपक्षी गठबन्धनतर्फ नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३१ छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले ३० मत मात्रै हुन्छ । यदी मन्त्री मनाङले साथ दिँदा विपक्षीतर्फ ३१ मत अर्थात् बहुमत पुग्ने पक्का जस्तै देखिएको छ ।

यसअघि पदबाट राजीनामा दिएका मन्त्री गुरुङलाई फेरि ठूलो दलको नेताको हैसियतमा वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनका लागि जेठ २५ गते प्रदेश सभामा प्रस्ताव दर्ता गराएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !