३ आश्विन २०८१, बिहिबार

दुई दशकमा पहिलो पटक बाल श्रमिकको संख्या बढ्यो

प्रकाशित मिति :  10 June, 2021 2:12 pm


काठमाडौं । विगत दुई दशकमै पहिलो पटक विश्वव्यापी रूपमा बाल श्रमिकको संख्या बढेको भन्दै कोरोनाभाइरसको संकटले अझ करोडौ बाल श्रमिक थपिने भन्दै अन्तर्राष्ट्रिय निकायहरूले चिन्ता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन र बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग (युनिसेफ)ले संयुक्त रूपमा जारी गरेको विश्व प्रतिवेदनमा विगत चार वर्षमा ४४ लाखले बाल श्रमिकको संख्यामा वृद्धि भइ  सन् २०२० को सुरुआतमा बाल श्रमिकको संख्या १६ करोड पुगेको भन्दै सो चिन्ता व्यक्त गरिएको हो ।

‘बाल श्रम: विश्वव्यापी अनुमान २०२०, प्रवृत्ति र भावी मार्ग’ शीर्षकको प्रतिवेदनले महामारीका कारणले विगत २० वर्षमा पहिलो पटक बाल श्रम समाप्तिका लागि हासिल भएका उपलब्धी पहिलो पटक रोकिएर उल्टिने जोखिममा रहेको चेतावनी दिएको छ ।

प्रतिवेदनअनुसार सन् २००० देखि २०१६को बीचमा बाल श्रमिकको संख्यामा ९ करोड ४० लाखले खुम्चिन पुगेको थियो ।

कोभिड-१९ महामारी सुरु हुँदाका बखत बाल श्रमिकको संख्या बढ्न थालेको भन्दै प्रतिवेदनमा विश्वव्यापीरूपमा दश जनामा एक जना बाल श्रममा फँसेका, जसमध्ये अफ्रिकाको उप सहारा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ ।

महामारीले यो चुनौतीलाई झन खराब अवस्थामा पुर्‍याउने बालबालिकासम्बन्धी यी नियोगहरूले चिन्ता व्यक्त गरेका छन् । दुवै अन्तर्राष्ट्रिय संस्थाहरूले महामारीले गरिबहरूको परिवारको संख्यामा वृद्धि गराउनेछ भन्दै यदि गरिबीमा धकेलिने परिवारका लागि कुनै ठोस कार्यक्रम अगाडि नबढाइएमा आगामी दुई वर्षमा बाल श्रमिकको संख्या ५ करोड हाराहारी पुग्ने चेतावनी दिएका छन् ।

युनिसेफ प्रमुख हेनरिटा फोरले महामारीले बाल श्रमिकको अवस्थालाई झन खराब बनाउने बताउँदै बाल श्रमिकको समस्या अन्त्य गर्ने आधार हामीले गुमाइरहेको बताएकी छिन् ।

महामारीले गरिबी बढाउँदा सन् २०२२ सम्म थप ९० लाख बालबालिका बाल श्रमिक बन्न बाध्य हुने प्रतिवेदनमा उल्लेख भए पनि अर्को ‘सिमुलेसन मोडेल’ले यदि ती बालबालिकाका परिवारसम्म महत्वपूर्ण सामाजिक सुरक्षा छातामा पहुँच नभएमा यो संख्या बढेर  ४ करोड ६० लाखसम्म पुग्नसक्ने चेतावनी दिइएको छ

प्रतिवेदन अनुसार ५ देखि ११ वर्षका विश्वका कुल बालबालिकाहरूको आधा भन्दा बढी बाल श्रमिकको रूपमा काम गरिरहेका छन् । तीमध्ये केटाहरू बढी रहेका छन् ।  ५ देखि १७ वर्षका उमेरहरूका बालबालिकाहरूमध्ये जोखिमयुक्त काममा काम गर्नेहरूको संख्या बढी छ । खानी जस्ता खतरनाक काम गर्ने बालबालिकाहरूलाई साताको ४३ घन्टा काम गर्नुपर्ने भएकाले उनीहरूको स्कूले शिक्षा असम्भव हुन पुगेको हो ।

सन् २०२० को सुरु हुनअघि ७ करोड ९० लाख बालबालिकाहरू यस्तो जोखिमयुक्त काममा संलग्न रहेको पाइएको थियो । चार वर्षअघि यो संख्या ६५ लाख मात्र थियो ।

प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा कृषि क्षेत्रमा कार्यरत बाल श्रमिकको संख्या ७० प्रतिशत (११ करोड २० लाख), सेवा क्षेत्रमा २० प्रतिशत (३करोड १४ लाख) र उद्योग क्षेत्रमा १० प्रतिशत (१ करोड ६५ लाख) छ ।

 



प्रतिक्रिया दिनुहोस !