७ आश्विन २०८१, सोमबार

नेकपा एमालेलाई प्रदेशमा धक्का, गण्डकी प्रदेशमा गुमायो विश्वासको मत

प्रकाशित मिति :  10 June, 2021 6:07 pm


काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशमा सरकारको नेतृत्व गुमाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले नेतृत्वको प्रदेश सरकार ढलेको हो ।

माओवादी केन्द्रले कर्णाली प्रदेश र सदूरपश्चिम प्रदेशमा सरकार जोगाउदा एमालेले भने ठूलो दलको हैसियतमा हुँदाहुँदैपनि गण्डकीमा सरकार जोगाउन सकेन ।

गण्डकी प्रदेशमा २७ सांसद नेकपा एमालेका मात्रै थिए । आवश्यक पर्ने ५ सांसद जुटाउन नसकेपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । ६० सदस्यीय प्रदेश सभामा ५८ जना सहभागि भएका थिए । ५८ जनामध्ये ५७ जनाले मतदान गरे । मुख्यमन्त्री गुरुङ्को पक्षमा २७ मत पर्‍यो भने विपक्षमा ३० मत परेको छ ।

मुख्यमन्त्री गुरुङले यसअघि पदबाट राजीनामा दिएपनि ठूलो दलको नेताको हैसियतमा वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

गुरुङलाई हटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाले गठवन्धन बनाएका थिए ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढलेसँगै विपक्षी गठवन्धनलाई नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ । अब विपक्षी गठवन्धनले सरकार गठनका लागि ३१ जना सांसदको साथ जुटाउनुपर्ने छ ।

मतदानकै आधारमा ३० सांसद पुगेका छन् तर अब थप एक जना सांसद खोज्नुपर्ने भएको छ । प्रदेश सभा विघटन बचाउनका लागि स्वतन्त्र सांसद दिपक मनाङेले साथ दिने बताइसकेकाले विपक्षी गठवन्धनलाई सहज हुने अनुमान गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !