बाँकेमा उपचाररत कोरोना संक्रमित थप चारजनाको मृत्यु
प्रकाशित मिति : 11 June, 2021 1:24 pm
बाँके । बाँकेमा उपचाररत कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ ।
दाङका दुई जना, बाँके र दैलेखका एक/एकजना गरी चारजनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको हो ।
त्यस्तै बाँकेको खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका–७ का ६९ वर्षीय पुरुषको आज बिहान १०:४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।