निषेधाज्ञाकाबीच चितवनमा घटे हिंसाका ३७ घटना, १५ जना महिलाले गरे आत्महत्या
काठमाडौं। कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा चितवन जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् ।
कोरोना महामारीको दोस्रो भरियन्टको निषेधाज्ञा पछि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् ।
घरेलु हिंसाका घटना १३ वटा, जबरजस्ती करणीका ३ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्ती करणी र बहुविवाहका १/१ वटा मुद्दा दर्ता भएको प्रवक्ता थापाले जनाकारी दिए। निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए ।
निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उनले जानकारी दिए । “घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन्,” थापाले भने ।
कोभिड-१९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् ।