७ आश्विन २०८१, सोमबार

नरोत्तम बैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्व दिएको अभिव्यक्ति

प्रकाशित मिति :  12 June, 2021 12:51 pm


काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम बैद्यले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गरेका छन् ।

बागमती प्रदेश सभामा आज समय लिएर बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको भन्ने आसयको अभिव्यक्ति उनले फिर्ता लिएको बताए ।

आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिका कारणले आवेशमा आएर बढी नै बोलेको भन्दै आफ्नो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरे । उनले पार्टीको निर्देशन र आफूले पनि संसदीय मर्यादा विपरित बोलेको भन्ने लागेको भन्दै रोष्ट्रममै आत्मालोचना गरे ।

उनले नेपालको संविधानको धारा १८७ अन्तर्गत संसदमा निर्धक्क बोल्न पाउने,पूर्ण वाक स्वतन्त्रता हुने र यसमा मुद्दा मामिला तथा कहीँकतै कारबाही नहुने,अनि यो संसदमा बोलेको कुरा कुनै ठाउँमा मुद्दमामिला नहुने भएकाले सार्वभौम संसदमा आफूलाई लागेको कुरा दिल खोलेर बोलेको बताए ।

तर धेरै क्रियाप्रतिक्रिया आएपछि बढीनै स्वतन्त्रताको उपभोग गरेको जस्तो लागेको उनको भनाई थियो । बैद्यको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठको निर्देशनमा हिजोको अभिव्यक्त संसदको रेकर्डबाट हटाइएको छ ।

बैद्यले हिजो नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता बचाउन अति गरेको भन्दै आफू नाथुराम गोड्से हुन तयार रहेको बताएका थिए । गोड्से भारतमा महात्म गान्धीको हत्या गर्ने व्यक्ति हुन् ।



प्रतिक्रिया दिनुहोस !