७ आश्विन २०८१, सोमबार

गण्डकी बन्यो सरकार परिवर्तन हुने पहिलो प्रदेश,नवनियुक्त मुख्यमन्त्री र मन्त्रीद्वारा सपथ ग्रहण

प्रकाशित मिति :  12 June, 2021 9:55 pm


कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका    छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।

पोखरेललाई आजै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी   थिइन् ।

मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पोखरेल विपक्षी गठबन्धनको तर्फबाट ३१ सांसदको समर्थनमा मुख्यमन्त्री भएका हुन् । प्रदेश सभामा निवर्तमान मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन भएको हो ।

प्रदेश संरचना सक्रिय भएपछि गण्डकी प्रदेशमा पहिलो पटक सरकार परिवर्तन भएको छ ।



प्रतिक्रिया दिनुहोस !