‘कोभिड प्रभावित गाउँपालिकावासीका लागि लक्षित काम गर्दैछौं’
गाउँपालिकामा कोरोनाको रोकथाम तथा नियन्त्रणको अवस्था कस्तो छ ?
पाणिनी गाउँपालिका पनि यस महामारीसँग अछुतो रहन सकेन । भारतबाट आएका प्रत्येकजसो व्यक्तिलाई कोभिड संक्रमण देखियो । प्रथम भेरियन्टमा जस्तो यो पटक सीमा नाकाहरूमा हेल्थ डेस्कको व्यवस्था नभएकाले भारत तथा अन्यत्रबाट आउने व्यक्तिहरूको लगत राख्न कठिन भयो । यसले गर्दा समुदायमा कोभिडको संक्रमण एकअर्कामा सर्न सजिलो भयो ।
केही समुदाय सम्प्रदायमा विभिन्न सामूहिक क्रियाकलाप पुजा, विहे, ब्रतबन्ध आदि गर्दा कोरोनाको संक्रमण फैलियो । व्यापक सूचना सञ्चार हुँदा पनि अटेर गर्ने समुदायमा कोरोनाको छरपस्ट नै देखियो । लक्षणचिन्ह सहितका संक्रमितहरूको जाँच गर्दा पोजेटिभ संख्या धेरै देखियो ।
कोरोना नियन्त्रणको लागि जोखिममा परेका सर्वसाधारण जनताको जीवन रक्षाको लागि के कस्तो योजना बनाइ कार्यान्वयन गर्नु भएको छ ?
पालिका तथा वडास्तरीय समितिहरूको बैठकहरू र समीक्षा गरिएको, स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन, माइकिङ गरिएको, लकडाउनलाई प्रभावकारी पालनको लागि वडा स्तरमा समिति गठन प्रचार–प्रसार, सुरक्षाकर्मी परिचालन गरी अटेर गर्ने समुदाय, पसलहरूमा सचेत गराइएको, सवै स्वास्थ्य चौकीहरूमा ज्वरोको विरामी जाँचको लागि ‘फिभर चेक’ सञ्चालन गरी सेवा प्रदान गरिएको थियो ।
तिनीहरूको एन्टिजेन जाँच गरी समयमै कोभिड, नन–कोभिडे पत्ता लगाउने काम गरियोे । भने तदनुरूपको व्यवस्थापन र परामर्श गरियो । सबै स्वास्थ्य संस्थाहरू निर्वाध रूपले सञ्चालन गरी खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, क्षय–कुष्ठ लगायत अत्यावश्यक सेवाहरू सञ्चालन गरियो ।
सबै स्वास्थ्य चौकीहरूको व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको, गाउँपालिका कार्यालय, स्कुलहरू, स्वास्थ्य चौकीहरू तथा वडा कार्यालयहरूमा डिस्पेन्सर स्यानिटाइजरको व्यवस्था गरिएको, केस इन्भेस्टिगेसनका लागि सीआईसीटी टिम गठन र सो मार्फत ट्रेसिङि गरि एन्टिजेन जाँच गरी तीव्रता दिइएको छ ।
यस्तो जोखिमको बेलामा कसरी दैनिक कार्य सञ्चालन गर्नुभएको छ ?
अर्घाखाँची जिल्ला प्रशासनको निर्णय बमोजिम यस गाउँपालिकामा अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ तर योजनाको भुक्तानीको सन्दर्भमा सामान्य मजदुरले योजनाको काम गर्दा ती मजदुरहरू रोगले भन्दा भोकले मर्न नपरोस् भनी हामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी ३ दिनसम्म फाइललाई ‘डिसइन्फेट’ गरेर मात्र भुक्तानी गर्ने व्यवस्था गरिरहेका छौं ।
विकास निर्माणका कामका बाधा पुगेको छ कि छैन ?
विकास निर्माण कामको सन्दर्भमा काम रोकिएको छैनन्, किनकी हामीले मजदुरहरूको एन्टिजेन परीक्षण गरेर निश्चित क्षेत्रमा मात्र कामकाजमा लगाएका छौ । ती मजदुरलाई स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई काममा लगाएका छौं ।
चालू आर्थिक वर्षका योजनाहरु समयमा सम्पन्न होलान् ?
चालू आर्थिक वर्षको मंसिर पुसतिर हामी वडा–वडामा गई शिविरमार्फत योजना सम्झौता गरी सकिसकेका थियौं । त्यसलगत्तै चैतसम्म ५० प्रतिशत र आजसम्म उपभोक्ताहरूको ७० प्रतिशत भुक्तानी सकिसकेका छौ तर विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को दोस्रो भेरिएन्टले तालिम लगायतका कामकाजमा प्रत्यक्ष बाधा पुगेको छ ।
हाल यस्ता कार्यहरु बन्द गरी विकास निर्माणको भुक्तानीको सन्दर्भ विशेष परिस्थितले माहामारीको रुपमा फैलिएको कारणमा बाहेक बाँकी काम असारमसान्त योजनाहरु सम्पन्न हुने विश्वास लिएको छु ।
यस वर्ष गरेका मुख्य–मुख्य कामहरू के के हुन् ?
हामीले यस वर्ष गरेका मुख्य कामहरुमा ऐन, कानुन, कार्यविधी साथै मापदण्डहरू निर्माण गरी त्यसलाई पूर्णता दिएका छौ । दूधको अनुदानलाई वृद्धि गरिएको छ । खरको छाना विस्थापन गरी जस्ता–पाता लगाउने काम अन्तिम –अन्तिम चरणमा रहेको छ । एक घर एक धाराको नीति बमोजिम काम भइ करिव ८५ प्रतिशत फुसका छाना विस्थापन गर्ने काम सम्पन्न भएको छ । वडा नं. ७ को वडा कार्यालयहरु निर्माण सम्पन्न भएको छ ।
वडा नं. १ र ४ का स्वास्थ्य चौकीहरु निर्माण तथा मर्मत भइरहेका छन । पणेना खा.पा. र पटौटी खा.पा. को ठेक्कामार्फत काम भइरहेको छ । भानु माध्यमिक विद्यालयको भवन निर्माणको ठेक्कामार्फत काम सम्पन्न भएको छ । बोयर बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत बोयर बाख्राको वितरण र बिमा तथा नवीकरण भएको छ ।
बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण तथा घटना दर्ता प्रणाली सबै वडामा लागू गरिएको छ । पाणिनी गाउँपालिका दुर्गाफाँटमा बर्थिङ्ग सेन्टर निर्माणको लागि ठेक्का प्रक्रियाबाट काम भइरहेको छ । गाउँपालिकामा कोशेलीघर प्रर्दशनी तथा विक्री कक्ष निर्माण कार्य भइरहेको छ । कोभिड प्रभावित भई गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान वितरण कार्य भएको छ ।
जनताको जीवनस्तरमा प्रत्यक्षरुपमा परिवर्तन लाभान्वित हुने के कस्ता कस्ता कामहरु गाउँपालिकाले गरेको छ ?
कृषिका मागमा आधारित कार्यक्रमअन्तर्गत प्रविधी हस्तान्तरण कार्यक्रममा हाते ट्याक्टर, टनेल, उन्नत वीउविजन, उन्नत बाख्राहरू वितरण गरी गरिब तथा उद्यमशील किसानलाई व्यावसायिक वनाउने कार्यमा सहयोग पुगेको छ । विभिन्न अमिला जातका विरुवा वितरणमा अनुदान दिइएको छ ।
कोभिड प्रभावित भई गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान वितरण कार्य भएको छ । वार्षिक रुपमा जम्मा ७ लाख लिटर दूधमा प्रतिलिटर रु ५ का दरले अनुदान वितरण गरिएको छ । सुन्तलामा रोगकिरा नियन्त्रणमा अनुदान दिइएको छ ।
गाउँपालिकालाई थप राम्रो बनाउन के कस्ता नीति तथा योजनाहरू छन् ?
सामाजिक आर्थिक पूर्वाधारको क्षेत्रमा विभिन्न नीति योजना कार्यान्वयन गरिने छ । जस्तै ‘कृषकसँग स्थानीय सरकार’, स्थानीय सरकार र कृषि क्षेत्रको अन्तरसम्बन्ध विकास/ कृषिमा स्थानीय सरकारको पूर्ण सहयोगको गर्ने योजना छ ।
यसरी नै सहकारीलाई उत्पादनसँग आबद्ध गरी उत्पादनमूलक तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने संस्थाहरुलाई प्रोत्साहन गर्ने अर्को योजना छ ।
सिँचाइको सुविधा पुग्न नसकेका तथा अन्य प्राकृतिक स्रोतबाट सिँचाइको सम्भावना नभएका स्थानहरुमा आकासे पानीको संकलन, भन्डारण, प्लास्टिक पोखरी, सिमेन्ट पोखरी निर्माण, थोपा सिँचाइ समेतको माध्यमबाट सिँचाइको प्रबन्ध मिलाइनेछ ।
जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न बाँझो जमिन खनजोत गरी उत्पादन गर्न चाहने कृषकलाई प्रोत्साहन अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन योजना बनाएका छौं । ‘निनरोगी पाणिनी गाउँपालिका निर्माण’ यस गाउँपालिकाको मुल नीति रहनेछ ।
‘चिनौँ आफ्नो गाउँ बनाऔं आफ्नै ठाउँँ’ अभियान सञ्चालन गरी गाउँपालिका भित्रका युवाहरूलाई विकास निर्माण एवंम शैक्षिक विकास सम्बन्धि काममा परिचालनको कार्यलाई सुरूवात गरिने छ ।
सबै विद्यालयहरूको शैक्षिक गतिविधिहरूलाई इन्टरनेटको माध्यमबाट गाउँपालिकाबाटै निरीक्षण गर्ने व्यवस्थाको सुरूवात गरिनेछ ।
गाउँपालिका क्षेत्रभित्र ‘एक घर एक धारा’ को अवधारणालाई कार्यान्वयनको चरणमा स्वच्छ खानेपानी पाणिनीबासीको अधिकारको रुपमा स्थापित गर्दै लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी योजनाहरुमा लाग्ने विद्युत महसुलको डिमान्ड शुल्क र न्यूनतम १० हजार लिटर पानीको लागि लाग्ने शुल्कमा सहुलियत प्रदान गर्ने कार्यको कानुन बनाई सुरुवात गरिने छ ।
महिला, बालबालिका, दलित, विपन्न वर्ग, आदिवासी जनजाति, अल्पसंख्यक(कुमाल, मुस्लिम) लगायतका लक्षित वर्गको लागि विशेष कार्यक्रम (चेतना वृद्घि, आय आर्जन आदि) बनाई लागू गरिनेछ । यसै आर्थिक वर्षदेखि यस गाउँपालिकाभित्र बसोवास गर्ने दलित तथा कुमाल जातिका छोरीहरूको शैक्षिक विमा कार्यक्रम बनाई लागु गरिनेछ ।
गाउँपालिकाका मुख्य समस्याहरू के छन् ?
ससाना योजनाहरू भएको कारण समयमा नै सम्पन्न गर्न कठिनाई भएको छ भने कतिपय योजनाहरूमा दोहोरोपना समेत देखिएको छ । एकै प्रकृतिका योजनाहरू पनि छुट्टाछुट्टै शीर्षक राखी बजेट विनियोजन हुँदा आयोजनाहरू छरिएका छन् ।
आम सेवाग्राहीमा जनचेतनाको अभाव तथा असचेत सेवाग्राहीका कार्यान्वयन पक्षमा समस्या छ । तीन तहको कानुन बमोजिम कार्यन्वयन गर्नुपर्ने भएकाले जटिल प्रक्रियाले समस्या सिर्जना भइरहेको छ ।
भूबनोट, भौगोलिक दूरी तथा भौतिक संरचनाहरूको अभावको अर्को समस्या छ । योजनाहरूमा जनसहभागिता नाम मात्राको हुन्छ भन्ने गुनासो सुनिएको छ ।
राज्यलाई तिर्नुपर्ने कर दस्तुर तोकिएको समयमा भन्दा ढिलासुस्ती गरेर तिरिँदा त्यसले स्रोत परिचालनमा समस्या सिर्जना गरेको छ ।
नवीनतम प्रविधिको कम प्रयोग, सीमित स्रोत साधन, आर्थिक र भौतिक स्रोत साधनको अवस्था ज्यादै सीमिततालगायतका थप समस्या छ ।
त्यसैले स्थानीय सरकारले सार्वजनिक सेवा वितरणमा व्यवहार, परम्परा, नीति नियमलगायतका सर्वाङ्गीण पक्षमा सुधारको खाँचो देखिन्छ ।
गाँउपालिकामा विकासका सम्भावना के कस्ता रहेका छन् ?
गाँउपालिकामा भौगोलिक तथा सामाजिक संरचनामा विविधता रहेको छ । मूलत यहाँको आम्दानीको स्रोत कृषि, पशुपालन नै हो । त्यस्तै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको पनि प्रवल सम्भावना देखिन्छ ।
पाणिनी गाँउपालिकामा भ्रष्टचार छैन भन्दै आउनुभएको छ, यसको ठोस आधार के हो ?
भ्रष्टचार शब्द सुन्ने वित्तिकै मानसिक रुपमा खिन्नता आउने, यसको परिभाषा तथा शब्द संरचनाले पनि गलत कार्य हो भन्ने जनाउने हुँदा यस्तो कार्य गर्ने र गर्न उद्दत गराउनेलाई प्रचलित कानुन बमोजिम कारवाही हुन्छ ।
यस्तै सामाजिक रुपमा हेर्ने दृष्टिकोणमा समेत फरक हुनुका साथै आधारभूत बाहेक अन्य सेवा सुविधा प्रदान गर्दा पनि विचार पुर्याउनु पर्ने जरुरी हुन आउँछ कि ?
भ्रष्टचारका प्रकृतिमा आर्थिक लेनदेन मात्र नभई विकास निर्माणमा कम गुणस्तर हुनु, कार्य सम्पादनमा ढिलासुस्ति, समयपालनमा बिलम्बता, निर्दिष्ट लक्ष्य प्राप्ति हुन नसक्नु आदि हुनसक्छन् । जहाँसम्म पालिकाको कुरा छ, पालिकामा हुने कार्य सम्पादन,आन्तरिक तथा बाह्य रुपमा हुने यसको मूल्याङ्कन र नतिजाबाट थाहा हुन आउछ ।
हालसम्मको अवस्थामा यस्तो गन्ध नआएको र भविस्यमा पनि नआओस् भन्ने कामना हुनसक्छ । आर्थिक लेनदेन बाहेकका कतिपय कार्यको आशातित नतिजा नआएको हुन सक्छ । त्यसको लागि समयमा नै सजग हुन जरुरीछ ।
यसको नियन्त्रणको लागि त बानी व्यवहारमा सुधारका साथै परिवर्तन जरुरी छ भने हाम्रा कार्यशैलीमा सुधार गर्नु पर्ने भए सो गर्ने, कानुनी तथा नीतिगत अस्पष्टता भए संशोधन गर्ने र मानसिक रुपमा भ्रष्टचार गर्न हुन्न र गर्दिन भन्ने प्रतिवद्ध हुन सकेमा नियन्त्रमा संभावना रहन्छ अन्यथा यो क्यान्सरको रुपमा रही रहन्छ ।
प्रस्तुती:अनिल नेपाली