३ आश्विन २०८१, बिहिबार

एक तिहाइ नेपाली गरिबीमा, दिगो विकासमा नेपाल ९६ औं स्थानमा

प्रकाशित मिति :  15 June, 2021 3:53 pm


काठमाडौं । नेपालका करिब साढे ३३ प्रतिशत जनता चरम गरिबीमा रहेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले जनाएको छ । क्याम्ब्रिज युनिभर्सिटीद्वारा सार्वजनिक गरिएको दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवेदन (सस्टेनेबल डेभलपेन्ट रिपोर्ट-२०२१)ले ३३.४ प्रतिशत नेपाली प्रतिदिन ३.२ अमेरिकी डलरभन्दा कमको आयमा बाँच्न बाध्य भएको जनाएको छ ।

प्रतिवेदनले शून्य गरिबीसम्बन्धी लक्ष्यमा नेपालको प्रगति स्थिर रहेको भन्दै यसका लागि मध्यम तहमा निकै चुनौती रहेको जनाएको छ ।

प्रतिवेदनअनुसार नेपालमा प्रतिदिन १.९ अमेरिकी डलरभन्दा कमको आयमा बाँच्न बाध्य अर्थात् चरम गरिबीमा बाँच्न बाध्य नेपालीको अनुपात ९ प्रतिशत छ ।

दिगो विकासमा नेपाल ९६ औं स्थानमा

प्रतिवेदनअनुसार नेपाल दिगो विकासमा ६६.५ स्कोरसहित विश्वका १६५ मध्ये ९६ औं स्थानमा परेको छ । दिगो विकास लक्ष्यका १७ विकास लक्ष्यमध्ये नेपाल ३ वटामा सही बाटोमा, ६ वटा लक्ष्यमा मध्यम वृद्धि, ४ वटामा स्थिर प्रगति र एउटामा उल्टो गतिका कारण यो स्थानमा परेको हो ।

दिगो विकास लक्ष्यको सही प्रगति हासिल गरिरहेका क्षेत्रमा स्वच्छ खानेपानी तथा सरसफाइ, मर्यादित काम तथा आर्थिक वृद्धि र जलवायुसम्बन्धी कार्यका लक्ष्यहरू रहेको प्रतिवेदनमा उल्लेख छ । उल्टो गतिको प्रगति हासिल भएको लक्ष्यमा भूसतकहो जीवनसम्बन्धी उपलब्धिहरू रहेको प्रतिवेदनले जनाएको छ ।

दिगो विकासमा प्रगति सूचकका आधारमा नेपाल दक्षिण एसियामा चौथो स्थानमा छ । दक्षिण एसियाली मुलुकहरूमध्ये ७० स्कोरसहित भुटान ७५ औं स्थानमा, ६९.३ स्कोरसहित माल्दिभ्स ७९ औं स्थानमा, ६८.१ स्कोरसहित श्रीलंका ८७ औं स्थानमा, ६६.५ स्कोरसहित नेपाल ९६ औं स्थानमा छ ।

यस्तै, ६३.५ स्कोरसहित बंगलादेश १०९ औं स्थानमा, ६०.१ स्कोरसहित भारत १२० औं स्थानमा, ५७.७ स्कोरसहित पाकिस्तान १२९ औं स्थानमा र ५३.९ स्कोरसहित अफगनिस्तान १३७ औं स्थानमा छ ।

सन् २०१५ बाट अवलम्बन गरिएको दिगो विकास लक्ष्यमा कोभिड १९ महामारीका कारण पहिलो पटक धक्का पुगेको भन्दै प्रतिवेदनले अतिकम आय भएका विकासशील मुलुकहरू आफ्नो कमजोर वित्तीय अवस्थाका कारण यो चुनौतीबाट बाहिरिन संघर्ष गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !