३ आश्विन २०८१, बिहिबार

गण्डकी प्रदेशमा चार अर्बको घाटा बजेट

प्रकाशित मिति :  15 June, 2021 6:05 pm


काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड रुपैयाँबराबरको बजेट ल्याएको छ । गण्डकीमा चालू आर्थिक वर्ष २०७७/७८ को संशोधित बजेटभन्दा कम आकारको बजेट ल्याइएको छ ।

अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रदेशका मुख्यमन्त्री  कृष्ण नेपाल ले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १३ अर्ब ६ करोड, पुँजीगततर्फ १६ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालू कुल विनियोजनको ४३.५ प्रतिशत हो भने पुँजीगत बजेट कुल विनियोजनको ५५.५ प्रतिशत हो ।

कुल बजेटमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ४२ करोड, सशर्त अनुदान ४ अर्ब १८ करोड, समपुरक अनुदान ८७ करोड र विशेषअनुदान ५४ करोड ९० लाख बेहोर्ने बजेटमा उल्लेख छ ।

यस्तै, राजस्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड, रोयल्टी बाँडफाँटबाट ३० करोड र प्रदेश सरकारको आन्तरिक स्रोतबाट ४ अर्ब ९८ करोड बेहोरिने जनाइएको छ ।
यी स्रोतहरूले नपुगेका कारण प्रदेश सरकारले ४ अर्ब १० करोड रुपैयाँको घाटा बजेट पेश गरेको छ ।

बजेट घाटा पूर्तिका लागि चालू आर्थिक वर्षको खर्च नभइ बचत हुने २ अर्ब १० नगद मौज्दातबाट उपयोग गर्ने र १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ भने त्यसबाट पनि अझै बजेट अपुग हुँदा नेपाल सरकारबाट १ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !