५ माघ २०८१, शनिबार

गण्डकी प्रदेशको बजेट :एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य

प्रकाशित मिति :  15 June, 2021 6:05 pm


काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक पर्यटकीय गन्तव्य’ बनाउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन गुरुयोजना निर्माण गर्न र पर्यटकीय गन्तव्य, पदमार्ग, साइकल मार्ग, होमस्टे, लगायत प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका कार्यक्रमलाई जोड दिएको जानकारी दिए ।

उनले यसै अन्तर्गत ‘एक निर्वाचन क्षेत्र,एक पर्यटकीय गन्तव्य’ कार्यक्रमको लागि बजेटको व्यवस्था गरेको जानकारी दिए ।

आन्तरिक पर्यटनमा टेवा पुर्‍याउन पर्यटन व्यवसायीलाई राहत कार्यक्रमसहित गण्डकी प्रदेशमा घुम्न आउने पर्यटकलाई विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्न बजेटमा व्यवस्था गरिएको छ ।

विपद्मा परेका पर्यटकलाई उद्धार गर्न र पर्यटन सूचना प्रणालीलाई विकास गर्न आवश्यक बजेटको व्यवस्था गरेको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।

पर्यटकीय गतिविधिको विस्तार र विविधीकरण गर्ने प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिंदै कोभिड–१९ ले समग्र पर्यटन क्षेत्रमा पारेको असर र प्रभावलाई सम्बोधन गर्न बजेटको व्यवस्था मिलाएको उनले बताए ।

नारायणी नदी किनारमा बीच पार्क निर्माण गर्न सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !