३ आश्विन २०८१, बिहिबार

सुदूरपश्चिमले प्रदेश कर्मचारीलाई ३ हजार रुपैयाँसम्म प्रोत्साहन भत्ता दिने

प्रकाशित मिति :  15 June, 2021 7:12 pm


काठमाडौं । सुदूरपश्चिम सरकारले प्रदेशमा कार्यरत कर्मचारीहरूलाई मासिक २ हजारदेखि ३ हजार रूपैयाँ ‘प्रदेश विशेष प्रोत्साहन भत्ता’ उपलब्ध गराउने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले पेश गरेको बजेटमा दार्चुला, बाजुरा र बझाङ जिल्लामा कार्यरत कर्मचारीलाई मासिक ३ हजार रुपैयाँ ‘प्रदेश विशेष प्रोत्साहन भत्ता’ दिने घोषणा गरिएको छ ।

यसैगरी, अछाम, डडेल्धुरा, बैतडी र डोटीमा कार्यरत कर्मारीलाई मासिक २ हजार ५ सय र कैलाली तथा कञ्चनपुरका कार्यरत कर्मचारीलाई मासिक २ हजार प्रोत्साहन भत्ता दिने बजेटमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि चालू आर्थिक वर्षको ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँबराबरको बजेट ल्याएको छ ।

बजेटमा चालूतर्फ १० अर्ब ६६ करोड अर्थात् कुल विनियोजनको ३५.१ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब ६५ करोड रुपैयाँ अर्थात्, कुल विनियोजनको ५८.२ प्रतिशत विनियोजन गरिएको छ ।

स्थानीय तहको हस्तान्तरणतर्फ कुल बजेटको करिब ५.७ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कुल बजेटमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट १ अर्ब ८ करोड, राजस्व बाँडफाँटबाट ७ अर्ब ९२ लाख, रोयल्टी बाँडफाँटबाट ३ करोड ९४ लाख बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै, वित्तीय समानीकरण अनुदान ८ अर्ब ५४ करोड, सशर्त अनुदान ४ अर्ब १९ करोड, समपुरक अनुदान १ अर्ब २२ करोड र विशेष अनुदान ६१ करोड ३५ लाख बेहोर्ने बजेटमा उल्लेख छ ।

यी स्रोतहरूले नपुगेका कारण प्रदेश सरकारले चालू आर्थिक वर्षको खर्च नभइ बचत हुने ६ अर्ब ६८ रुपैयाँ नगद मौज्दातबाट उपयोग गर्ने अर्थमन्त्री शाहले बताए ।

 



प्रतिक्रिया दिनुहोस !