७ आश्विन २०८१, सोमबार

बाढी र पहिरोमा परी हराई रहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग प्रचण्डको आग्रह

प्रकाशित मिति :  16 June, 2021 12:01 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविरल बर्षासँगै देशका विभिन्न भागमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले बाढी र पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले बाढी र पहिरोमा परी हराई रहेकाहरूको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको आरोप लगाएका छन् ।

हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग प्रचण्डले विशेष आग्रह गरेका छन् ।

उनले भनेका छन्,“यस महाविपतमा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु ।”

अध्यक्ष प्रचण्डले बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको नि:शुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !