पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि भारत लगिदै, एमाले महासचिव पोखरेलले अस्पताल पुगेर भेटे
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनाललाई आज थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए ।
नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ । ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण भएको थियो ।
यसैबीच नेकपा एमालेका महासचिव इश्वर पोखरेल अस्पताल पुगी खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
महासचिव पोखरेलले भनेका छन्,“केही दिनदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री एवं हाम्रो पार्टी नेकपा (एमाले)का वरिष्ठ नेता कमरेड झलनाथ खनाललाई आज काठमाडौंको नर्भिक अस्पतालमा भेटी उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिएको छु । आजै थप उपचारका लागि भारत जानु भएका कमरेड खनालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”