७ आश्विन २०८१, सोमबार

बाढी प्रभावित नागरिकको युद्धस्तरमा उद्धार र राहतका लागि कांग्रेसको अपिल

प्रकाशित मिति :  16 June, 2021 1:08 pm


काठमाडौं । नेपाली कांग्रेसले बाढी प्रभावित नागरिकको युद्धस्तरमा उद्धार र राहतका लागि अपील गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको निकै क्षति गरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उद्धार र राहतका लागि अपिल गरेका हुन् ।

उनले भनेका छन्,“ युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।”

स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको पनि सभापति देउवाले जनाएका छन् । उनले अपिलमा भनेका छन्,“पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्दछु ।”

सभापति देउवाले बाढी पहिरोको जोखिम अबका केही दिनमा थप बढ्न सक्ने पूर्व घोषणा दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न नेपाली कांग्रेस पार्टीका तर्फबाट अपील गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !