७ आश्विन २०८१, सोमबार

विप्लवद्वारा उद्धार तथा राहत कार्यलाई अभियानकै रुपमा अगाडि बढाउन नेता कार्यकर्तालाई निर्देशन

प्रकाशित मिति :  16 June, 2021 1:24 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा लाग्न निर्देशन दिएको छ ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज विज्ञप्ति जारी गर्दै बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यालाई अभियानकै रुपमा अगाडि बढाउन निर्देशन लिएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “यस विपतको घडिमा पार्टीका सम्पूर्ण सङ्गठन, नेतृत्व कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न विशेष निर्देशन गरिन्छ । साथै आपतमा परेकाहरूको लागि यथासक्य साथ र सहयोगका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक आग्रह गर्दछौं ।”

नेकपाले सम्भावित सङ्कटलाई मध्यनजर गरी पूर्व तयारीमा लाग्न, उद्धार र राहत कार्यमा राज्यका सबै निकायलाई व्यवस्थित परिचालन गर्न, मृतकका परिवार तथा क्षतिग्रस्त परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको तत्काल र निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ ।

महासचिव विप्लवले अझै पनि राज्य र सम्बन्धित निकाय यस विषयमा तत्काल गम्भीर भई तदारुकता पूर्वक नलाग्ने हो भने थप भयावह स्थिति बेहोर्नु पर्ने हुनसक्ने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !