नेपाली बजारमा पनि घट्यो कोकाकोलाको सेयर मूल्य
काठमाडौं । विश्व बजारमा झण्डै ४ खर्ब ६९ अर्ब रुपैयाँ गुमाएको कोकाकोला कम्पनीको सेयर मूल्य नेपाली सेयर बजारमा घटेको छ ।
पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पत्रकार सम्मेलनका क्रममा दुईवटा कोकको बोतल सारेर पानी पिउने सन्देश दिएपछि कोकाकोलाको सेयर मूल्यमा व्यापक गिरावट आएको छ ।
जसका कारण विश्व सेयर बजारबाट कोकले ४ खर्ब ६९ अर्ब रुपैयाँ गुमाएको छ ।
रोनाल्डोले आफूलाई स्वास्थ्य र शारिरीक रुपमा तन्दुरुस्तट राख्न कोकोकोलाको सट्टा पानी पिउन सल्लाह दिएका सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको असर विश्व सेयर बजारमा परेको हो ।
नेपालमा पनि कोक उत्पादन गर्ने बोटलर्स तराई नेपाल लिको सेयर मूल्यमा गिरावट आएको छ । हिजो बोटलर्स तराईको सेयर अधिकतम १० हजार ८४७ रुपैयाँ पुगेकोमा आज घटेर १० हजार ६३५ मा झरेको छ ।
आज बोटलर्स तराईको २३ वटा कारोबारबाट कुल २९ लाख ८८ हजार ९२० रुपैयाँ कारोबार भयो ।
यद्यपि, नेपालका लगानीकर्ताहरूले विश्व सेयर बजारको प्रवृत्ति र कम्पनीबारे चलेका विश्लेषणभन्दा बजार हल्लाका भरमा बढी लगानी गर्ने भएकाले बोटलर्स तराईको मूल्य स्थानीय सेयर बजारकै प्रभावले घटेको आकलन गरिएको छ ।