नेप्सेमा धितोपत्रबोर्डद्वारा जारी विज्ञप्तीको प्रत्यक्ष प्रभाव
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिजो धितोपत्र बोर्डले निकालेको विज्ञप्तीको प्रत्यक्ष प्रभाव परेको छ । आज बजार खुलेदेखिनै कारोबार रकम तथा नेप्से परिसूचक पूरै ओरालो लागेको छ ।
बोर्डले मंगलबार एक विज्ञप्ती जारी गर्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गरेरै उक्त कम्पनीको सेयर मूल्यमा चलखेल भएको भन्दै लगानीकर्तालाई सर्तक रहन आग्रह गरेको थियो ।
जसकारण बोर्डले चलखेल गरेको भनिएका कम्पनीको मूल्य धेरै गिरावट आएको छ । बोर्डले जारी गरेको उक्त विज्ञप्ती प्रति धेरै संघसंस्था तथा लगानीकर्ताहरुले असहमती जनाउँदै विरोध गरेका छन् ।
बोर्डले नामै किटान गरेर यसरी सार्वजनिक गर्न नहुने लगानीकर्ताहरु आक्रोशित बनेका छन् ।
नियामक निकायको काम लगानीकर्तालाई नामै तोकेर सार्वजनिक गर्नु गलत भएका पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले बताइन् ।
उनले विज्ञप्तीको प्रत्यक्ष असर आज बजारमा परेको भन्दै हिजो बोर्डले तोकेका धेरै जसो कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको बताइन् । उनले भनिन्,“५१ वटा कम्पनी भनेको थोरै होइन,बोर्डले कसैलाई प्रशय दिएजस्तो लाग्छ अब लगानीकर्ताको यत्रो लगानीको जोखिममा परेको छ यसको जिम्मेवार बोर्ड नै हुनुपर्दछ ।”
यसको विषयमा अर्थमन्त्रालयमा छलफल भइरहेको अध्यक्ष पोख्रेलले बताइन् ।
बोर्डले विज्ञप्ति जारी गरेर ५१ वटा सुचिकृत कम्पनीहरूमा लगानी गर्न जोखिमपूर्ण हुने भनेको मा नेपाल ईन्भेष्ट्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले गम्भीर असहमति जनाएका छन् ।
संसारमा कुनै पनि देशको नियामक निकाय आफैले सञ्चालन स्विकृती दिएका कम्पनीहरूमा लगानी गर्न उचित हुँदैन भनेर धारणा दिन नसक्ने उनीहरूको दावी छ । बोर्डले कानुनले वर्जित गरेको बाहेक सबै कामहरू स्वतन्त रूपमा गर्ने छुट पाउने भन्दै गैरकानुनी कार्य गर्ने कम्पनीलाई कानुनी रूपमै कारवाही गर्ने अधिकार सम्बन्धित निकायमा हुने ती दुवै संगठनले विज्ञप्तिमार्फत बताएका छन् ।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२.४१ अंकले घटेर २९६९.६९ मा पुगेको छ । नेप्से १.७३ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५६ अंकले घटेर ५४१.७० मा पुगेको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको भने बाँकी १२ वटामा रातो पोतिएको छ ।
आज लघुवित्त समूहमात्रै २.६३ प्रतिशतले बढेको छ भने वित्त समूह सर्वाधिक ६.८ प्रतिशतले ओरालो लागेको छ । होटेल तथा पर्यटन समूह ५.१४ प्रतिशतले ओरालो लागेको यो दिन जलविद्युत समूहमा ४.७५ प्रतिशत, विकास बैंक समूहमा ४.०४ प्रतिशत बैंकिङ समूहमा ०.४७ प्रतिशत, व्यापार समूहमा २.५४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.१७ प्रतिशत, अन्य समूहमा २.९८ प्रतिशत, जीवन बीमा समूहमा २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत र लगानी समूहमा २.५४ प्रतिशतको गिरावट आएको छ ।
कारोबारका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक अग्रस्थानमा रहेको छ । त्यस्तै हिमालयन डिष्टीलरी, नेशनल हाइड्रोपावर, अरूण भ्याली हाइड्रोपावर, अपि पावर, रसुवागढी हाइड्रोपावर, लुम्बिनी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अरूण काबेली पावर लिमिटेड र कुमारी बैंक लिमिटेडको धेरै कारोबार भएको छ ।
बुधबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : सिइडिबी हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स, युनियन हाइड्रोपावर, आरएसडिसी लघुवित्त, सामुदायिक लघुवित्त, कालिका विकास बैंक, ग्रामीण विकास लघुवित्त, आशा लघुवित्त, एनआइसी एशिया लघुवित्त र स्वोरोजगार लघुवित्त रहेका छन् ।
बुधबार गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, आँखुखोला जलविद्युत, बेष्ट फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र पोखरा फाइनान्स रहेका छन् ।
नेप्सेमा आज कूल २१९ वटा कम्पनीको २ करोड ८२ लाख ८९ हजार एक सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।