१ मंसिर २०८१, शनिबार

अफ्रिकामा रहेका नेपालीद्वारा नेपालमा सामूहिक लगानी शुरु, रु. १ अर्ब पुँजीको कम्पनी स्थापना

प्रकाशित मिति :  17 June, 2021 1:10 pm


काठमाडौं । अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरूले नेपालको उर्जा , कृषि , पुर्वाधार र अन्य क्षेत्रमा लगानी गर्न ‘एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड कम्पनी’को नेपालमा स्थापना गरेका छन् ।

अहिले १ अर्ब रुपैयाँ पुँजी रहने कम्पनीलाई अफ्रिकाका गैरआवासीय नेपालीहरूबाट शुरु गरे पनि यसमा अन्य गैरआवासीय नेपालीहरू र नेपाल फर्की सकेका एनआरएनहरूलाई पनि जोड्ने तयारी छ । कम्पनीले कृषि, उर्जा, पुर्वाधार र आइटी लगायतका योजनाहरूमा लगानीको लागि प्रारम्भिक कार्य शुरु गरि सकेको कम्पनीका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

थापाले गैरआवासीय नेपालीहरुले नेपालमा कम्पनी स्थापना गरेर लगाउनी भित्राउने क्रम सुरु भएको भन्दै यो खुशीको कुरा भएको बताए ।
बिदेशमा कार्यरत नेपालीहरूलाई नेपालको समृद्धिमा जोडने गैरआवासीय नेपालीहरूको प्रयासमा अफ्रिकाका नेपालीबाट संयुक्त रुपमा प्रारम्भ गरिएको यो लगानीको नयाँ थालनी भएको अध्यक्ष थापाको भनाई छ ।

उनले भने,“यसले अफ्रिकामा बसेका नेपालीहरू पनि नेपालको समृद्धिमा साझेदारी गरि रहेका छन् भन्ने देखिनेछ । यस अघि पनि यहाँका नेपालीहरूले नेपालको पुर्वाधार, उर्जा , स्वास्थ्य , उत्पादनमूलक उद्योग र विविध क्षेत्रमा नेपालमा विभिन्न माध्यमबाट लगानी गरिरहेका छन् ।”

यस कम्पनीमा अफ्रिकाका सबै देशमा रहेका लगभग सय जना नेपालीहरू आबद्द भएका छन् भने अफ्रिका तथा अन्य महादेशका गैरआवासीय नेपालीहरू र नेपाल भित्र रहेका नेपालीहरू थपेर हजार जना लगानीकर्ता जोड्ने अभियान छ । अप्रिका भेन्चर्सका निर्देशन रोशन थापाले भने,“कम्पनीले आर्थिक लगानी मात्र नगरेर यहाँका सीप र ब्यबस्थापनका ज्ञान पनि नेपालमा लग्नेछ ।”

हाल काठमाडौंमा रहेको कम्पनीका अर्का निर्देशक दीपक कर्णले भने,“ कम नेपाली भएको महादेश र आर्थिक रुपमा अपेक्षाकृत रुपमा पछाडी रहेको अफ्रिका क्षेत्रबाट भएको यो प्रयासले अन्य क्षेत्र र देशमा बसेका नेपालीलाई पनि नेपालमा लगानी गर्न थप उत्प्रेरणा दिनेछ ।”



प्रतिक्रिया दिनुहोस !