जापान जाने तयारीमा रहेका झण्डै ७ हजार विद्यार्थी अन्योलमा, तत्काल पहल गर्न सरकारसँग माग
काठमाडौं । कोरोना संक्रमणका कारण जापानले सीमा बन्द गरेपछि अध्ययनका लागि जाने तयारी अवस्थामा रहेका झण्डै ७ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
सन् २०२० मै रकम बुझाएर जाने तयारी गरिरहेका बेला सीमा बन्द भएपछि उनीहरू तनावमा परेका छन् । नेपाल सरकारले दोस्रो लहरको संक्रमण कम भएसँगै जापानका लागि हवाई उडान खुल्ला गर्ने निर्णय गरेको छ । तर जापानको आवसीय भिसा, जापानी नागरिक र उनका परिवारलाई मात्रै जापानले सीमा खुलाएको छ ।
यससँगै जापानमा उच्च अध्ययनका लागि जाने तयारी अवस्थामा रहेको विद्यार्थीहरु निराश बनेका छन् । अध्ययनका लागि जापान जान सबै तयारी पुरा गरेरपनि रोकिएका रामकृष्ण बस्नेतले भने,“हाम्रो शैक्षिक सत्रपनि त्यत्तिकै भयो, पैसापनि गयो र जापान पानी जान पाइएन, यतिबेला हामी पैसा भन्दा पनि ठूलो मानसिक टर्चरमा छौं ।”
उनले देशभरबाट झण्डै ७ हजार विद्यार्थी अन्योलमा रहेको बताए ।
पीडित विद्यार्थीहरूले ‘रुट अफ जापान टिम गठन’ गरेर आफ्नो मागको सुनुवाईका लागि पहल गरिरहेका छन् ।
उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“विगत २०२० देखि जापानमा उच्चा शिक्षा हासिल गर्नका लागि आफ्नो विद्यालय शुल्क बुझाएर रोकिएका विद्यार्थीहरूको कुरा नेपाल सरकारबाट नउठ्नु भनेको निकै दु:खमय र निन्दनीय छ । नेपाल सरकारले आफ्ना बिद्यार्थीहरू प्रतिको गैरजिम्मेवारी र ध्यानाकर्षण नभएको देख्दा आफू उसको नागरिक हुन परेकोमा दु:ख लाग्छ ।”
उनीरुले नेपाल सरकारले पहल गरे अझैपनि ढिला नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनेका छन्,“पढाई शुल्क बुझाएर पनि विगत लामो समयदेखि प्रतिबन्धमा परेका विद्यार्थीहरूको विषयमा नेपाल सरकारले जापान सरकारलाई र जापानीज दूतावासलाई तुरुन्त आग्रह गरोस् । ”
पीडित विद्यार्थीहरू उच्च शिक्षाका लागि जापान जानबाट रोकिएका विद्यार्थीलाई खोप उपलब्ध गराई अध्ययन गर्न जाने विद्यार्थीका लागि सीमा खुलाउन माग गरेका छन् ।
उनीहरूको मागमा भनिएको छ,“पढाई शुल्क बुझाएर पनि रोकिएका विद्यार्थीहरूलाई जापान सरकारले तुरुन्तै एउटा निर्णय दिनुपर्नेछ । कोभिड नै मुख्य कारण हो र हालै जापान प्रवेश सहज नहुने हो भने तुरुन्तै विद्यार्थीहरूले उच्छ शिक्षाको लागि बुझाएको सो शुल्क र विद्यार्थीहरूले जापानको पर्खाइमा गुमाएका आफ्नो अमूल्य २ वर्षको समयको पनि भरपाई गर्नुपर्नेछ ।”
नेपाल सरकारले पहल नगरे ठूलो संख्याका विद्यार्थी मानसिक रोगको सिकार भएको भन्दै आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।