४ आश्विन २०८१, शुक्रबार

दाताले अनुदानमा दिएको सात सय टन स्वास्थ्य सामग्रीको छैन हिसाब

प्रकाशित मिति :  19 June, 2021 2:37 pm


Medical Supplies_TMG

काठमाडौं । विगत एक महिनायता दाताले कोभिड-१९सँग जुझ्नका लागि दिएको करिब  १ हजार ४ सय टनभन्दा अधिकको स्वास्थ्य सामग्रीहरूमध्ये करिब ७ सय टनको सामग्रीको हिसाब बीचमै गायब भएको छ ।

दाताले दिएका सामग्री काठमाडौंस्थित स्वास्थ्य गोदाममा जम्मा भएको र त्यहाँबाट झिकिएका/आपूर्ति गरिएका परिणाममा व्यापक अन्तर भेटिएको छ । अस्पतालहरूले निकासा गरियो भनिएअनुसार स्वास्थ्य सामग्री आफूले नपाएको बताइरहेका छन् ।

स्वास्थ्य सेवा विभागले जारी गरेको विवरण र नेपालस्थित संयुक्त राष्ट्र संघीय कार्यालयको स्थितिपत्रको विवरणसँग तुलना गर्दा भण्डारबाट निकासा गरिएको अनुपात कम पाइएको छ ।

नेपालमा दोस्रो लहरको कोभिड महामारी फैलन थालेसँगै यहाँको जीवन रक्षक स्वास्थ्य सामग्रीको अभाव पूर्तिका लागि दाताले अक्सिजन सिलिन्डर,  अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, मास्क, पन्जा, फेस सिल्ड, एन्टिजेन कीट, पीपीईलगायतका स्वास्थ्य सामग्री दिन थालेका थिए ।

एक महिनायता मात्रै चीन, अमेरिका, बेलायत, ‌फिनल्यान्ड, तुची फाउन्डेसन, जापान, बेल्जियम, ‌फ्रान्स, यूएई, युनिसेफलगायतका ३० भन्दा बढी दाताले २८१९ क्युबिक मिटर (करिब १ हजार ४ सय टन) स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेका थिए ।

स्वास्थ्य सामग्रीमा मास्क, पञ्जासहितका हलुका सामग्रीको अनुपात फरक हुने भएकाले क्युबिक मिटर (सीबीएम) मा गणना गरिएको अनुपात ०.३ देखि ०.६ गुणकको बीचमा रहने जानकारहरू बताउँछन् ।

नेपालस्थित संयुक्त राष्ट्र संघीय कार्यालयको विवरणअनुसार १५ मेदेखि २२ मेसम्म चीनबाट १ हजार ९५० वटा र ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर प्राप्त भएकोमा थियो भने नेपाल-चीन सीमा हुँदै थप ८०० वटा सिलिन्डर ल्याइएको थियो ।

यसैगरी, २२ देखि २८ मेसम्म अमेरिका, स्वीजरल्यान्ड, स्पेन र सिंगापुरबाट ६९५ क्युबिक मिटर स्वास्थ्य सामग्री, चीन सरकारबाट स्थलगत मार्गबाट थप १५० सिलिन्डर (३० हजार लिटर) लिक्विड अक्सिजन नेपाललाई उपलब्ध गराइको विवरणमा उल्लेख छ ।

चीनबाट आएको अक्सिजन त्यही दिन नै काठमाडौंका अस्पतालहरूलाई बाँडिएको र स्वास्थ्य मन्त्रालयको भण्डारबाट १५ देखि २३ मेका बीचमा १७२ मेट्रिक टन अत्यावश्यक/जीवन रक्षक स्वाथ्य सामग्री झिकेर आपूर्ति गरिएको थियो ।

यसैगरी, २९ मेदेखि ४ जुनको बीचमा चीनबाट स्थलगत मार्गबाट ६ ट्रक (७८ मेट्रिक टन) स्वास्थ्य सामग्री, हवाई माध्यमबाट अमेरिका, बेलायत, चीन, फिनल्यान्ड र तुची फाउन्डेसनबाट ७६४ सीबीएम स्वास्थ्य सामग्री नेपाललाई सहयोग प्राप्त भएको नेपालस्थित संयुक्त राष्ट्र संघीय कार्यालयको विवरणमा देखिन्छ ।

सो स्थितिपत्रअनुसार २४ देखि ३१ मेका बीचमा स्वास्थ्य मन्त्रालयको भण्डारबाट २७८ मेट्रिक टन (५५२ सीबीएम) स्वास्थ्य सामग्री झिकेर आपूर्ति गरियो ।

यसैगरी, ५ देखि ११ जुनका बीचमा चीनबाट स्थलमार्ग हुँदै १२ ट्रक(१०३ मेट्रिक टन) स्वास्थ्य सामग्री अनुदानका रुपमा नेपाल सरकारलाई दिइएकोमा हवाई मार्ग हुँदै फ्रान्स, यूएई, जापान, चीन, तुची फाउन्डेसन, बेल्जियम र युनिसेफबाट १ हजार सीबीएमभन्दा बढी स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरियो ।

मे ३१ देखि ६ जुनका बीचमा स्वास्थ्य मन्त्रालयको भण्डारबाट १८५ मेट्रिक टन (३८४ सीबीएम) स्वास्थ्य सामग्री झिकेर आपूर्ति गरिएको नेपाल आवासीय कार्यालयको स्थितिपत्रमा उल्लेख छ।

यही बीचमा सत्तारुढ दलका केही सांसदहरूले आफ्नो पहुँचका भरमा स्वास्थ्य मन्त्रालयबाट सीधै झिकेर गाडी–गाडीभरि स्वास्थ्य सामग्री आफ्ना निर्वाचन क्षेत्रमा पुर्‍याएका थिए ।

कोभिड-१९ महामारीका बीच खटिइरहेका विभिन्न जिल्लास्थित चिकित्सकहरूले यस्ता स्वास्थ्य सामग्री आइनपुगेको बताइरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !