रोल्पाका द्वन्द्व पीडितलाई निशुल्क स्वास्थ्य बिमा
उमा केसी –
रोल्पा । दश वर्षे सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित रोल्पाका स्थानीय तहहरूले द्धन्द पीडितहरूका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि सारेका छन् ।
जिल्लाका सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकाले यो कार्यक्रम अघि सारेका हुन् ।
सुनिलस्मृति गाउँपालिकाले यस अघि नै १०० द्वन्द्व पीडितका लागि यो कार्यक्रम कार्यान्वयन गरिरहेका छ । रोल्पा नगरपालिकाले पनि यसै वर्षदेखि बिमा कार्यक्रम कार्यान्वयन गर्ने भएको हो ।
नगरपालिकाले द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षवाट पीडित भएकाहरूलाई यो सुविधा दिने निर्णय गरेको छ । हालका लागि ३ सय द्वन्द्वपीडितहरूलाई यो सुविधा दिने निर्णय भए पनि आवश्यकता अनुसार थप गर्न सकिने नगरपालिकाले जनाएको छ ।
द्वन्द्वका क्रममा मारिएकाहरूका परिवार,वेपत्ता, घाईते अपांग, यौनंिहंसामा परेकाहरू तथा प्राकृतिक अपांगता भएका र नगरभित्रका अतिविपन्नहरूले समेत यो सुविधावाट लाभान्वित हुने रोल्पा नगरपालिकाले जनाएको छ । द्वन्द्वमा आफन्त गुमाएका तथा वेपत्ता भएका, आफै घाईते अपांग भएका र यौनहिंसामा परि मनोवैज्ञानिक त्रास भोगेकाहरू आर्थिक रुपले कमजोर अवस्थामा रहेकाले बिमापछि उनीहरूको स्वास्थ्योपचारमा सहयोग मिल्ने नगरपालिकाले आशा गरेको छ ।
“राजनैतिक परिवर्तनमा आफै सहभागि भएर घाईते अपांग जीवन विताईरहेका तथा यौनहिंसामा परेका र आफन्त वेपत्ता भएका एवम गुमाएकाहरूको सम्मानका लागि पनि यस्तो कार्यक्रम अघि सारेका हौं,” नगरप्रमुख पूर्ण केसीले भने ।
बिमाले उनीहरूको नि:शुल्क स्वास्थ्य उपचार हुँदा ठूलो राहात हुने नगरप्रमुख केसीको भनाई छ । “उर्जाशिल समय परिवर्तनमा लगाएकाहरू अहिले विभिन्न शारिरीक समस्या भोगिरहनु भएको छ त्यसका लागि पनि स्वास्थ्य विमा जरुरी थियो,”प्रमुख केसीले भने ।
तत्कालिन स्थानीय शान्ति समिति रोल्पाको तथ्यांकअनुसार रोल्पामा ९ सय ४६ जनाले द्वन्द्वका क्रममा ज्यान गुमाएका थिए । जसमा ७ सय ६२ जना राज्यपक्षबाट, १ सय ६५ जना बिद्रोही पक्षबाट र ८ जना दोहोरो भिडन्तमा मारिएका हुन् । ११ जना कुन पक्षवाट मारिए भन्ने खुलेको छैन । द्वन्द्वमा वेपत्ता भएका ३३ जनाको अवस्था अझैसम्म अज्ञात छ । राज्य पक्षले २७ जना र विद्रोही पक्षले ६ जना वेपत्ता बनाएको तथ्यांकमा उल्लेख छ ।
द्वन्द्वका कारण जिल्लामा ५९५ जना घाईते अपांग भएको तत्कालिन स्थानीय शान्ति समितिको तथ्यांकमा उल्लेख छ । उनीहरू मध्ये मासिक रुपमा जीवन निर्वाह भत्ता लिईरहेका घाईते अपांगहरुको संख्या ७७ रहेको छ । जस मध्ये विशिष्ट श्रेणी १० र प्रथम श्रेणी ६७ जना रहेका छन् ।
द्वन्द्वमा यौन हिंसामा पर्नेहरूको नाम गोप्य राखिएको छ । यो संख्या पनि दर्जनौ रहेको बताईन्छ । “उनीहरूको अवस्था निकै दर्दनाक छ,” महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भनिन् ।
पारिवारिक र सामजिक दृष्टिकोणवाट अपहेलित उनीहरूलाई राज्यले समेत उचित संरक्षण गर्न सकेको छैन । स्थानीय तहको यो कदमले उनीहरूलाई ठूलो राहत पुग्ने आचार्यको भनाई छ ।
जिल्लाका केही स्थानीय तहले द्वन्द्व पीडितका लागि थालेको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सकारात्मक रहेको द्वन्द्वका क्रममा श्रीमान गुमाएकी रोल्पा नगरपालिका १० की धनमाया पुनले प्रतिकृया दिइन् ।
“परिवारको दैनिकी व्यवस्थापन गर्न हम्मे हम्मे परेका द्वन्द्व पीडित बिमा पश्चात हुने नि:शुल्क स्वास्थ्योपचारले ठूलो राहात महसुस गर्दैछन्,” पुनले भनिन् । जिल्लाका दुई स्थानीय तहले थालनी गरेको यस प्रकारको कार्यक्रम वाँकी सवै स्थानीय तहले पनि शुरु गर्नुपर्ने पुनको भनाई छ ।