३ आश्विन २०८१, बिहिबार

बाढी पीडित कृषकलाई राहत वितरण ढिला नगरियोस्ः किसान महासंघ

प्रकाशित मिति :  19 June, 2021 6:33 pm


काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोमा परेका कृषकलाई यथासिघ्र राहत वितरण गर्न अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै कैयौँ किसानहरुका घरगोठका साथै बिउब्याड, बालीनाली, पशुपन्छी तथा चौपायाहरू बगाउने र पुरिने भएको छ भने ठुलो संख्यामा जनताको घरगोठ तथा खेतबारी जोखिममा परेकोले सन्त्रासको वातावरणमा जीउन बाध्य हुनु परेको भन्दै दुख प्रकट गरेको छ ।

“प्रकोपमा परी जीवन गुमाउने र प्रभावित परिवारहरूलाई तत्काल राहतको व्यवस्था गर्न, घाइतेहरूको तत्काल स्वास्थ्योपचार गराउन, भत्किएका र नष्ट भएका संरचनाहरू तत्काल पूनर्निर्माण गरी खेतीपाती गर्ने वातावरण तयार गर्न र देशव्यापीरूपमा रासायनिक मलको हाहाकारको स्थिति भएकोले तत्काल मल उपलब्ध गराउन हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

मुलुकको दुई तिहाइ जनसंख्या ओगट्ने किसानहरूले आफ्नो मुख्य बाली धानका साथै कोदो, भटमास, मौसमी तथा बेमौसमी बर्खे तरकारी तथा सदाबहार फलफूल रोप्ने र चैते धान भित्राउने समयमा बाढी, पहिरो र डुबानका साथै सिँचाइको नहर, कुला र कुलेसाहरू भत्काउने, थुनिने, पाइपहरू बगाएर लैजाने लगायतका समस्याहरु भोग्न बाध्य भएको प्रति सरकार गम्भीर बन्नुपर्ने धारणा महासंघको छ ।

 



प्रतिक्रिया दिनुहोस !