१२ मंसिर २०८१, बुधबार

विश्व याेग दिवस : ‘शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न योग’

प्रकाशित मिति :  21 June, 2021 9:26 am


काठमाडाैं । मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । राष्ट्रसङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो ।

आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । “योगको शुरुआत शिव र पार्वतीको संवादबाट शुरु भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ”, योग दिवसका अभियानकर्मी डा पोखरेलले भने ।

आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास शुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । यसको अभ्यासले मनका कारण शरीरमा लाग्ने रोगबाट बच्न सकिन्छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।

योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बाराकोटीको विश्वास छ ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेल बताउँछन् ।

यही शैक्षिक सत्रदेखि पढाइ शुरु गर्न खोजिएकामा कोरोनाका कारण सम्भव नभएको उनले बताए । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् । विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि पढाइ शुरु हुन सकेको छैन ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।

“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरूपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”, डा पोखरेलले भने । योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए । अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन शुरु भएको छ ।

दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण धेरै कार्यक्रम जुम प्रविधिबाट नै आयोजना गरिने जनाइएको छ । महामारीका बेला नियमितरूपमा योग गरेमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने र कोरोनाले आक्रमण नगर्ने योग अभियानकर्मीको भनाइ छ । रासस

 



प्रतिक्रिया दिनुहोस !