अर्घाखाँची छत्रदेव गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पशुपालनलाई प्राथमिकता
अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आउँदो वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा लिफ्टिङ खानेपानीको ३३ प्रतिशत विद्युत् महसुल गाउँपालिकाले तिरिदिने उल्लेख छ ।
खानेपानीको समस्या रहेका पालिकामा खानेपानी आपूर्तिमा सञ्चालन हुने लिफ्टिङ खानेपानी आयोजना महँगो पर्ने भएपछि ३३ प्रतिशत विद्युत् महसुल पालिकाले तिर्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए । गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिँदै खानेपानीलाई प्राथमिकतामा राखेको छ ।
यस्तै किसानलाई कृषि औजारमा पालिकाले अनुदान दिने भएको छ । ‘कृषकको सम्मान, कृषि उत्पादनमा अनुदान’ भन्ने मान्यताका साथ गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने भएको छ ।
‘खनौँ आफ्नै माटो, छोडौँ विदेशको माटो’ भन्ने नाराका साथ कृषिमा स्वरोजगार सिर्जना हुने कार्यक्रम पालिकाले ल्याएको छ ।
बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको अध्यक्ष पोख्रेलको भनाइ छ ।
यस्तै गाउँपालिकाले स्थानीयस्तरमा आय आर्जनको भर पर्दो स्रोत भएमा मात्र बसाइँसराइ कम हुन्छ भन्ने अनुभवबाट श्रमजीविहरूको सुरक्षा, रोजगारी सिर्जना, उद्यमशीलता विकास र आय आर्जनमा जोड दिने भएको छ ।
स्वास्थ्य स्वयंसेविकाको नि:शुल्क स्वास्थ्य बीमा गरिने, ’बालबालिकालाई विद्यालय पठाऊ, सिकाऊ र टिकाऊ’ अभियान चलाउने गाउँपालिकाले जनाएको छ ।