तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती देशभर सामान्य बदली रहने र देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको बुलेटिनमा उल्लेख गरेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश न २ र बागमती प्रदेशका एक दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।
महाशाखाले भनेको छ,“देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।”