समयमै सम्पन्न भएन रोल्पाको बृहत् खानेपानी आयोजना
उमा केसी-
रोल्पा । रोल्पाको बृहत खानेपानी आयोजनाको काममा ढिलाई भएको छ । अघिल्लो वर्ष पौष महिना भित्र सम्पन्न गरिसक्नु पर्ने योजना कोरोनाको कारण देखाउँदै ढिलो गरिएको छ ।
सम्झौता मितिले १८ महिना भित्र सम्पन्न गरिसक्नु पर्ने आयोजना तोकिएको समय भन्दा १ वर्ष ढिला जाने देखिएको छ । आयोजना २०७६ असारमा सम्पन्न सम्झौता भएको थियो ।
एशियाली विकास वैंकको ७० प्रतिशत,नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र स्थानीय समुदायको ५ प्रतिशत लगानीमा २०७६ असारमा आयोजना निर्माणको सम्झौता भएको थियो ।
जिल्ला सदरमुकाम लिवाङको घना बस्ती रहेको रोल्पा नगरपालिकाका वडा नं १,२ र ४ का १ हजार ६० घरघुरीलाई लक्षित गरि आयोजना निर्माण सुरु गरिएको हो । आयोजनाको कुल ठेक्का रकम ३१ करोड ५२ लाख ४२ हजार ९४६ रुपैयाँ रहेको छ ।
आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको रोल्पा शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लिलाधर आचार्यले जानकारी दिए । कोरोना महामारीको बिषम परिस्थितिका कारण समयमै काम सम्पन्न गर्न नसकिएको अध्यक्ष आचार्यको भनाई छ ।
“तोकिएको समय भित्रै उपभोक्तालाइ पानी खुवाउने प्रयास गर्दागर्दै कोरोना महामारीका कारण सफल हुन सकेनौंको बिषम परिस्थितिले सफल हुन सकेनौ” आचार्यले भने ।
परिस्थिति सहज हुने वित्तिकै योजनाको तिव्रगतिले काम हुने उनको भनाई छ ।
आयोजना लक्षित १ हजार ६० लक्षित घरधुरी मध्ये ८ सय घरधुरीको धारा जडान कार्य सम्पन्न भईसकेको छ । वितरण पाईपलाईनको केही काम वाँकी रहेको आयोजनाले जनाएको छ ।
आयोजनाले कार्यालय भवन,सार्वजनिक शौचालय, रिजरवायर ट्यांकी,विभिन्न ठाउँमा राखिने सम्पोवयलहरू निर्माण भईसकेको आयोजनाको सुपरभिजन ईन्जिनियर कृष्ण वहादुर ऐरले जानकारी दिए ।
आयोजनामा विद्युत जडान,मोटर जडान,फिल्टर जडान,स्काडा जडानको काम बाँकी रहेको छ । जडानका सवै सामानहरू भारतवाट लिनुपर्ने भएकाले पनि काम समयमै सम्पन्न हुन नसकेको आयोजनाको तर्क छ ।
आयोजना क्षेत्र भित्र समेटिने विपन्न तथा गरिब घरधुरीलाई निशुल्क खानेपानी उपलव्ध गराउने कार्यक्रम अन्तरगत ती घरधुरीहरूमा खानेपानी धारा जडान र शौचालय निर्माणको काम पनि भईरहेको वताएको छ ।
आयोजनाकाले तोकेको विपन्न घरधुरीको मापदण्ड भित्र पर्ने ५८ घरधुरी शौचालय र ९९ घरधुरी पानीधारा जडानका लागि छनौट भएका थिए । छनौट भएका विपन्न मध्ये ५८ घरधुरीको निशुल्क शौचालय निर्माणको काम सम्पन्न भईसकेको छ ।
खानेपानी उपभोक्ता समितिका लेखापाल टंकप्रसाद आचार्यले भने,“निशुल्क धरा जडानका लागि छनौटमा परेका ९९ मध्ये ६५ घरधुरीको काम सम्पन्न भईसकेको छ । ”