८ माघ २०८१, मंगलबार

दुई महिनादेखि स्थगित कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालन

प्रकाशित मिति :  22 June, 2021 11:00 am


कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दुई महिनादेखि स्थगित सेवा आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका थिए ।

बारअनुसार स्थानीय तहका सेवाग्राहीलाई कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी आजदेखि सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टले बताए । उनका अनुसार नागरिकतासम्बन्धी सेवाका लागि आइतबार र सोमबार भीमदत्त, वेदकोट र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई प्रदान गरिने छ ।

यसैगरी मङ्गलबार र बुधबार कृष्णापुर, शुक्लाफाँटा र बेलौरी नगरपालिकाका र बिहीबार र शुक्रबार दोधरा चाँदनी नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि निर्धारण गरिएको छ । नयाँ नागरिकता बनाउने सेवाग्रही ३० र प्रतिलिपि लिने सेवाग्राही २० गरी निर्धारित बारमा जम्मा ५० जनालाई सेवा दिइने छ ।

नागरिकतासम्बन्धी सेवा लिनका लागि बिहान १० देखि १०:३० बजेभित्र टोकन लिनुपर्ने छ । “राहदानीका लागि प्रतिदिन १० जनालाई मात्रै नयाँ सिफारिस दिइने छ”, अधिकृत भट्टले भने, “राहदानी वितरणको कार्य र कार्यालयबाट प्रदान गरिने अन्य सेवा साविकबमोजिम दिइनेछ ।” कोरोनाको जोखिम अझै रहेकाले भीडभाड हुन नदिनका लागि कार्यालयको सेवालाई प्रभावाकरी बनाई प्रवाह गरिने व्यवस्था गरिएको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस !