७ आश्विन २०८१, सोमबार

आयोगले कानूनी व्यवस्था,स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्‍यो : विपक्षी गठवन्धन

प्रकाशित मिति :  22 June, 2021 6:24 pm


काठमाडौं । विपक्षी गठबन्धनले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको आरोप लगाएको छ ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै विपक्षी गठवन्धनले निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था,स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्षरुपमा काम नगरी कानून र न्यायसंग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनेका छन्,“यस्तो कार्यले अन्तत: लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्‍याउँछ । यस्ता गलत गतिविधिहरु अविलम्ब बन्द      गरिनुपर्छ ।”

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दवाव र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ ।”



प्रतिक्रिया दिनुहोस !