७ आश्विन २०८१, सोमबार

प्रतिनिधि सभा विघटन विरुद्वको मुद्दामा आजदेखि निरन्तर सुरुवाइ

प्रकाशित मिति :  23 June, 2021 7:23 am


काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्वको मुद्दामा आजदेखि निरन्तर सुरुवाई सुरु हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि त्यसका विरुद्व १४६ सांसदले रिट दायर गरेका थिए । उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समेत माग गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा ३० वटा रिट निवेदन परेपनि देउवासहित १४६ सांसदले दिएको रिट निवेदनमा पहिला सुनुवाइ गर्न लागिएको हो ।

रिटको सुनुवाई संवैधानिक इजलासमा हुने छ । इजलासमा प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।

प्रधानमन्त्रीको सिफारिसबमोजिम राष्ट्रपतिले बहुमत जुटाई सरकार बनाउन आह्वान गरेकी थिइन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माधव नेपाल पक्षका समेत गरी बहुमत १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले पनि आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी गरे ।

तर राष्ट्रपति भण्डारीले दुवैका दाबी नपुगेको भन्दै नयाँ प्रधानमन्त्री नियुक्त गरिनन् । लगत्तै मध्यराति नै मन्त्रिपरिषद् बैठक राखी प्रधानमन्त्री ओलीले गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते दोस्रोपटक संसद विघटन गरेकी थिइन ।

त्यसपछि सभापति देउवाले आफूसमेत १४६ सांसदको हस्ताक्षरसहित सर्वाेच्च अदालतमा मुद्दा हालेका थिए ।

निवेदक पक्षले १२ घण्टा र जवाफी बहसका लागि तीन घण्टा समय पाएको छ।



प्रतिक्रिया दिनुहोस !