३ आश्विन २०८१, बिहिबार

टेलिकमको सिस्टम फेल हुँदा २ करोड ग्राहक प्रभावित

प्रकाशित मिति :  23 June, 2021 8:39 am


काठमाडौं । बुधबार बिहानैबाट नेपाल टेलिकमको जीएसएम फोनको सिस्टम फेल हुँदा देशभरिका करिब २ करोड ग्राहक प्रभावित भएका छन् । बुधबार बिहानैबाट टेलिकमका प्रिपेड र पोस्टपेड ग्राहकहरूले आफ्नो फोनमा टावर नदेखाउने, टावर देखाए पनि फोन नलाग्ने समस्या झेलेका थिए ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रणालीमा समस्या देखिएको र प्राविधिकहरू बनाउनमा खटिएको भन्दै ग्राहकहरूसँग माफी मागेका छन् । बिहान ६ बजेदेखि देखिएको समस्या साढे ८ बजेपछि मात्र सुल्झिएको टेलिकमका अधिकारीहरूले बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपाल टेलिकमका १ करोड ९२ लाख १४ हजार जीएसमएम प्रविधिको मोबाइल प्रयोगकर्ता छन् भने कुल ग्राहक २ करोड १७ लाख छन् । गत वर्षको लकडाउनदेखि यतामात्रै टेलिकमका ग्राहकहरूको संख्या २१ लाख ५ हजार ५९९ ले वृद्धि भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । यही अवधिमा एनसेलका ग्राकह भने ६ लाख ४४ हजार ९८८ ले घटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !