नेपालले भारतसँग किन्न खोजेको खोपको पनि टुंगो भएन,तत्काललाई ‘पेन्डिङ’मा
काठमाण्डौं । नेपालले भारतसँग किन्ने वा भारतले नेपाललाई दिने भनिएको खोप आइपुग्ने विषयमा कुनै टुंगो लाग्न सकेको छैन ।
भारतका छिमेकी देशमा कार्यरत भारतीय राजदूतहरूले निरन्तर खोप मैत्री कार्यक्रम अन्तर्गत अप्रिलमा रोकिएको खोप उपलब्ध गराउने कार्यक्रम पुन: सञ्चालन गर्न आग्रह गरिरहेका छन् । तर भारतको संघीय सरकारले यसबारे कुनै नीति तय नगरेको खुलेको छ ।
भारत सरकारले आन्तरिक खोप कार्यक्रमलाई प्राथमिकतामा राखेकोले यसबारे कुनै नीति तय नगरिएको समाचार ‘द प्रिन्ट’ले सार्वजनिक गरेको छ ।
बंगलादेश, श्रीलंका र नेपालले भारतसँग खोप खरिद गर्न खोजेको विषयलाई भारत सरकारले तत्काल ‘पेन्डिङ’मा राखेको छ ।
खोप उत्पादनका आधारमा भारत सरकारले छिमेकी देशलाई जुलाई महिनाको अन्त्य तिर वा अगस्ट महिनातिर खोपको केही मात्रा दिन सक्ने देखिएको छ ।
भारतमा विश्वकै सर्वाधिक बढी खोप उत्पादन कम्पनीले खोप उत्पादन गरी जनवरी २० बाट खोप विदेशमा पठाउन सुरु गरेको थियो । यसलाई खोप मैत्री कार्यक्रम भनिएको थियो ।
तर भारतलाई खोपको अभाव भएपछि अप्रिल महिनामा विदेश पठाउन रोक लगाइएको थियो । त्यतिखेर भारतले ६ करोड ६० लाख खोप देश बाहिर पठाइसकेको थियो ।
भारतीय खोप रोकिएपछि दक्षिण एसियाली देशमा चीन र रुसले खोप उपलब्ध गराउने प्रस्ताव अगाडि सारेको थियो । भारतले सोमबार खोप अभियानको पहिलो दिन ८० लाख खोप लगाएको थियो ।
भारतमा खोप अभियानको गतिले अगस्टसम्म खोप दिइसक्ने देखिएको छ । त्यसपछि भारत सरकारले अन्य देशलाई खोप दिनेबारे सोच्ने सम्बद्ध स्रोतलाई उल्लेख गरी जनाइएको छ । अगस्टसम्म चालिस प्रतिशत जनसंख्यालाई खोप दिइसकिए पछि हर्ड इम्युनिटीको अवस्था भारतले प्राप्त गर्ने र त्यसपछि भारत सरकारले खोप अन्य देशलाई दिने छ ।
भारतले अन्य देशमा छिमेकलाई पहिलो प्राथमिकतामा राखेकाले छिमेकीहरूले त्यसपछि खोप पाउने छन् ।
अमेरिकालगायत अन्य देशले खोप उपलब्ध गराउने भनेपछि भारत सरकारलाई छिमेकीहरूको प्राथमिकता पूरा गर्ने दबाब परेको छ ।
मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकरले एक अन्तर्वार्तामा खोप आपूर्तिको वैश्विक भूमिका भारतले वहन गर्ने विषयमा सोचिरहेको बताएका थिए ।
खोप सिपमेन्टमा रोक लगाइएयता बंगलादेश, नेपाल र श्रीलंकालगायतका देशले अनुदान नभए किन्न खोजिएको खोप पनि पठाउन आग्रह गरिरहेका छन् ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले केही दिन अघि नेपालका परराष्ट्रमन्त्रीसँग खोप आपूर्ति विषयमा छलफल गरेका थिए ।