३ आश्विन २०८१, बिहिबार

देशव्यापी निषेधाज्ञाको असर बाह्य व्यापारमा

प्रकाशित मिति :  23 June, 2021 5:54 pm


काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा कोभिड-१९ को प्रकोप विस्तार हुन नदिन लगाइएको लकडाउनका कारण खस्केको देशको बाह्य व्यापार फेरि पुरानै लयमा फर्केको छ । यद्यपि, वैशाखको पहिलो सातादेखि क्रमसः देशव्यापी रुपमा लगाइएको निषेधाज्ञाको असर भने बाह्य व्यापारमा परेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८को पहिलो ११ महिनामै १३ खर्ब ८३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब २१ अर्बबराबरको निर्यात भएको छ । गत आर्थिक वर्ष २०७६/७७को ११ महिनाको अवधिमा ११ खर्ब रुपैयाँको वस्तु आयात भएको थियो भने ८८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो । त्यसभन्दा अघिल्लो वर्ष समान अवधिमा १२ खर्ब ९९ अर्बको आयात र ८७ अर्बको निर्यात भएको थियो ।

चालू आर्थिक वर्षमा भइरहेको आयातको प्रवृत्ति हेर्दा चालू आर्थिक वर्षभरिमा कुल आयात १५ खर्ब १५ अर्ब रुपैयाँभन्दा नाघ्ने संकेत देखिएको छ । आयात र निर्यातको अनुपात हालसम्मकै उच्च हो ।

गत फागुनमा १ खर्ब ४० अर्ब ३० करोड रुपैयाबराबरको वस्तु आयात भएकोमा चैतमा यो अनुपातमा वृद्धि भइ १ खर्ब ६७ अर्ब रूपैयाँ पुगेको थियो । वैशाखदेखि देशभर क्रमिक रुपमा लगाइएको लकडाउनको असरले आयात व्यापारमा केही कमी आइ १ खर्ब ४२ अर्ब ७० करोडमा झरेकोमा जेठमा पुनः १ खर्ब २९ अर्ब २५ करोड रुपैयाँमा झरेको छ ।

निर्यात व्यापार पनि निषेधाज्ञाको असर देखिए छ । गत फागुनमा १० अर्ब ९० करोड रुपैयाबराबरको वस्तु आयात भएकोमा चैतमा यो अनुपातमा वृद्धि भइ १४ अर्ब रूपैयाँ पुगेको थियो । वैशाखदेखि देशभर क्रमिक रुपमा लगाइएको लकडाउनको असरले आयात व्यापारमा केही कमी आइ १३ अर्ब ७० करोडमा झरेकोमा जेठमा पुनः १२ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ ।

कुल निर्यात भने वृद्धि भइ १ खर्ब २१ अर्ब पुगेको छ, यो हालसम्मकै उच्च निर्यात हो । चालू आवको ११ महिनाको औसत निर्यातलाई आधार मान्दा यो वर्ष १ खर्ब ३५ अर्ब रूपैयाँभन्दा बढीको निर्यात हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !