५ माघ २०८१, शनिबार

‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनका लागि सरकार र परिसंघबीच समझदारी

प्रकाशित मिति :  24 June, 2021 5:30 pm


काठमाडौं । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच सहकार्य गर्ने समझदारी भएको छ ।

परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात पर्वर्द्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा सरकारले आफ्नो बलियो साथ एवं साझेदारी रहने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रको रूपमा विकास गर्न यस अभियान र समझदारी कोशेढुंगा सावित हुने बताए ।

“अब नेपाल सरकार र नेपाल उद्योग परिसंघ आफ्ना जिम्मेवारी कुशलतापूर्वक बहन गरी अघि बढ्नुपर्छ,” उनले भने, “सरकारले नीतिगत र प्रक्रियागत सरलीकरण गरिरहेको छ, लगानीको वतावरण पनि तयार भइरहेको छ । अब उपलब्धि हासिल हुने गरी निजी क्षेत्रले काम   गर्नुपर्छ ।”

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाली वस्तुको उत्पादन र प्रवर्द्धनका लागि यस अभियानले महत्त्वपूर्ण योगदान दिने बताए ।

“नेपाललाई अहिले आफ्नै वस्तु उत्पादन र तिनीहरूको प्रवर्द्धन आवश्यक परेको छ,” उनले भने,“यो अभियानले त्यसलाई सहयोग पुर्‍याउने परिसंघको विश्वास छ ।” अध्यक्ष मोरले समझदारीपत्रमा उल्लेखित विषय कार्यान्वयन गर्न परिसंघ प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समझदारीपछि स्वदेशी अभियानका लक्ष्य हासिल गर्न अझ सहयोग पुग्ने बताउनुभयो । उनले स्वदेशी वस्तुको उत्पादन तथा उपभोग प्रवर्द्धनमा यसले अझै टेवा दिने उल्लेख गरे ।

नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, सोको प्रवर्द्धन एवं उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्नका लागि यो अभियानको सुरुवात गरिएको हो । २०७७ फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यो अभियानको शुभारम्भ गरेका थिए ।

यस अभियानलाई व्यापकरूपमा अगाडि बढाउन नेपाली वस्तु र सेवामा प्रयोग गर्ने गरी एक लोगोको पहिचान गरिएको छ । नेपाल उद्योग परिसंघद्वारा प्रस्ताव गरिएको उक्त लोगो निश्चित मापदण्ड र प्रकृया अवलम्वन गरी सबै नेपाली उत्पादनले प्रयोग गर्न सक्ने गरी नेपाल सरकारले दर्ता प्रक्रिया अगाडि बढाएको छ ।

नेपाली वस्तु र सेवालाई विश्वव्यापी बनाउने र यसको स्वदेशी उपभोग वृद्धि गर्ने गरी अघि सारिएको यो अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै समझदारी गरिएको हो ।

नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभइकन यस अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु र सेवाको गुणस्तर वृद्धि गर्नु, बजारको माग र निर्यात सम्भाव्यता समेत हेरी उत्पादन वृद्धि गर्नु र उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको उत्पादन र प्रवर्द्धन गर्नु आवश्यक हुने परिसंघको ठहर छ ।

समझदारीअनुसार उद्योग विभाग र परिसंघको समन्वयमा मेक इन नेपाल – स्वदेशी लोगो प्रयोगका सम्बन्धमा संयुक्तरूपमा अनुगमन गरिनेछ । यसैगरी नेपाल सरकार र परिसंघको समन्वयमा अभियानको प्रभावकारिताका सम्बन्धमा मूल्याङ्कन गरी सोको आधारमा परिमार्जन र सुधार गरिने पनि समझदारीमा उल्लेख छ । अभियानलाई प्रभावकारी बनाउन सञ्चालक समिति र कार्यसम्पादन समिति गठन गरी काम अघि बढाइनेछ ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडी र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल, उपसचिव प्रेम प्रसाद लुईँटेल एवं नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल तथा उपाध्यक्षहरू सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे, परिसंघका आर्थिक सल्लाहकार डा विश्व पौडैल, अभियान कार्यदलका सदस्य हितेश गोल्छा र परिसंघका महानिर्देशक यादवप्रसाद पौड्याल लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !