रोल्पामा कोरोना नियन्त्रणबारे राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीबीच विवाद,बैठक बहिष्कार
उमा केसी-
रोल्पा । रोल्पामा प्रमुख जिल्ला अधिकारीले कोरोना नियन्त्रणमा लापरबाही गरेको भन्दै मुख्य राजनीतिक दलले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी)को बैठक बहिष्कार गरेका छन् ।
कोरोना नियन्त्रणका लागि दिइएका सुझाव वेवस्था गर्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निषेधाज्ञामामात्रै ध्यान दिएको भन्दै नेकपा एमाले,नेपाली कांग्रेस,माओवादी केन्द्र र राप्रपाले डिसीसीएमसीको बैठक बहिष्कार गरेका हुन् ।
बैठक बहिष्कारपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ,“पहिदेखि नै सुझाइएका बाहिरी जिल्ला तथा देश बाहिरबाट जिल्ला भित्रिएका नागरिकलाई कोभिड–१९ को मापदण्ड अनुसार व्यवस्थित नगरेको, कोभिड–१९ को परीक्षणको दायर बढाउनतिर ध्यान नदिएको लगायत निषेधाज्ञा सम्बन्धमा पनि विभिन्न राजनीतिक दल,समाजिक संघसंस्थाहरूको सुझावलाई वेवास्था गर्दै अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीले प्रस्तुत गरेको स्वेच्छाचारी व्यवहार खेद जनक छ ।”
आजको बैठकमा विगतकै व्यवहार नै दोहोरिएकाले मौखिक असहमति राख्दै बैठक बहिष्कार गरेको चार दलको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ,“आगामी दिनमा रोल्पाली जनताको समस्या समाधान गर्न राजनीतिक दल लगायत सरोकारवाला सबैको सुझाव,सरसल्लाह लिई, समन्वय गरी अगाडि बढ्न सम्बन्धिन निकायको ध्यानकर्षण गराउँदछौं ।”
डिसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सापकोटाले रोल्पामा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न आज बैठक बोलाएका थिए । बैठकले असार २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ । त्यस्तै पसलहरु बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खोल्न दिने निर्णय गरेको छ । रोल्पामा दोस्रो लहर कोरोना संक्रमण फैलिएपछि वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ ।
दोस्रो चरणको संक्रमण सुरु दोस्रो लहरमा मात्रै रोल्पामा १८ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् । आज मात्र ९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । अहिलेपनि जिल्लामा १७५ जना सक्रिय संक्रमण रहेका छन् ।
आज ३७ जना निको भए संगै अहिले सम्म १७८४ जना सक्रमण मक्त भएका छन् । संक्रमित मध्य ७ जना होम आइसोलेसनमा बसेका छन् भने १४ जना रोल्पा अस्पतालको आइसोलेसनमा रहेका छन् ।