७ आश्विन २०८१, सोमबार

माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधि पदमुक्त

प्रकाशित मिति :  25 June, 2021 7:14 am


काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद गएको छ ।

माओवादी केन्द्रले २०७४ मा कारबाही गरेपछि दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको हो ।

आयोगले आज सूचना जारी गरेर १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।

माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारबाही गरेको जानकारी गराएपछि निर्वाचन आयोगले पद रिक्त गरेको जनाएको हो ।

पद मुक्त हुनेमा रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाह रहेका छन् ।

त्यस्तै रौतहटकै देवाही गोनाही नगरपालिका उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटा पनि पद मुक्त भएका छन् ।

महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !