१३ मंसिर २०८१, बिहिबार

रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव पारित

प्रकाशित मिति :  25 June, 2021 2:56 pm


रुकुम पूर्व । रुकुम (पूर्व) को सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । नवौँ गाउँसभामा सिस्नेलाई नगरपालिका बनाउन पेश गरिएको प्रस्ताव गाउँसभाबाट सर्वसम्मतले पारित भएको हो ।

नगरपालिका बनाउनको लागि आवश्यक मापदण्ड सबै पूरा भएकाले प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । गाउँसभाबाट पारित भएको उक्त प्रस्ताव अब प्रदेश हुँदै सङ्घ सरकारमा जाने छ । सिस्ने गाउँपालिकामा अहिले आठ वडा रहेका छन् । अब दुई वटा वडालाई टुक्र्याएर १० वडासहितको सिस्ने नगरपालिका प्रदेशमा प्रस्ताव गरिने भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।

सिस्ने १ नम्बर वडालाई टुक्र्याएर १ र २ नम्बर वडा बनाइने छ भने २ नम्बर वडालाई टुक्र्याएर ३ र ४ नम्बर वडा बनाइने प्रस्ताव गरिएको    छ । त्यस्तै ५, ६, ७ र ८ नम्बर वडालाई भने अहिलेकै अवस्थामा यथावत राखिने गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । वडा टुक्र्याउने प्रस्ताव गर्नुभन्दा अगाडिका ३ र ४ नम्बर वडालाई भने क्रमश: ९ र १० नम्बर वडा बनाउने प्रस्ताव गरिएको छ ।

जनसङ्ख्याको आधारमा हेर्दा सानो तर भौगोलिक हिसाबले ठूलो यस गाउँपालिकाका वडालाई यहाँका नागरिकको सहजताकै लागि वडा टुक्र्याउने र नगरपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, गाउँसभाबाट सिस्नेको आर्थिक विधेयक, सौजन्य आधारभूत विद्यालय र जनज्योति महिला समूहबीच जग्गा सट्टापट्टा सम्बन्धको निर्णय र कर्मचारी समायोजन सम्बन्धमा बनेको ऐन २०७८ पनि सर्वसम्मतले पारित भएको छ । रासस



प्रतिक्रिया दिनुहोस !