३ आश्विन २०८१, बिहिबार

गाईपालनबाट जनजीवन फेर्दै सिन्धुलीको नमुना कृषि सहकारी

प्रकाशित मिति :  25 June, 2021 5:23 pm


अनुप आचार्य-

सिन्धुली । तीन वर्ष अघि स्थानीयवासी मिलेर सिन्धुलीको दूधौली नगरपालिका वडा नं २ मा नमुना कृषि सहकारी गठन गरे । कृषि क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ स्थापना भएको सहकारीले चाक्लाबन्दी खेती सुरु गर्‍यो ।

निर्वाहमुखी कृषि प्रणाली अनि विस्तारै कृषि क्षेत्रमा बढ्दै गएको निराशाकाबीच सहकारीले नयाँ अभियानको चुनौती मोल्यो । सहकारीले चाक्लाबन्दी खेती त सुरु गर्‍यो तर कृषि यसका लागि वस्तुभाउ आवश्यक पर्ने देखियो । सहकारीका व्यस्थापक कुमार लुईंटेल भन्छन्, “चक्लाबन्दी खेती गरे पनि त्यसबाट उत्पादन भएको घाँस तथा अन्य कुरा कसरी व्यवस्थापन गर्ने चुनौती भयो र हामी गाई पालन पनि गर्नुपर्छ भन्ने सोंचमा पुग्यौं ।”

सहकारीले गाई पालन गर्ने निर्णय गरिरहँदा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७६/७७ मा सझेदारीमा नमुना गाई पालन कार्यक्रम लागू गर्दै थियो । मन्त्रालयको कार्यक्रम सहकारीका लागि आत्मबल बढाउने अस्त्र बनेर आयो । कार्यक्रम पर्छ वा पर्दैन भन्नेमा निश्चित थिएन । तर पनि कार्यक्रमका लागि प्रस्ताव पेस गरियो र ५० लाख रुपैयाँ उपलब्ध गरायो ।

नमुना कृषि सहकारी संस्थाले सञ्चालन गरेको फर्मको गत वर्ष अवलोकन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल

मन्त्रालयको कार्यक्रमसँग जोडिन सहकारीले पनि ५० प्रतिशत व्यहोर्नुपर्ने व्यवस्था छ । त्यसै अन्तर्गत सबै व्यवस्थापन गरेर सहकारीले १५ वटा होलिस्टेन र २ वटा जर्सी गाई किन्यो । “मन्त्रालयको पनि कार्यक्रम त थियो नै तर चाक्लाबन्दी खेती भएकाले घाँस, गोबर सबैको सदुपयोग हुने भयो र यसले हामीलाई कृषि चक्र पनि पुरा हुने भएकाले गाई खरिद गर्‍यौं र मन्त्रालयको सहयोग पनि थपियो,” व्यवस्थापक लुईंटेले भने ।

सहकारीमा १ सय ५१ सदस्य छन् । सहकारीले गाईपालन सुरु गरेपछि सहकारी सदस्य त उत्साहित छन् नै वरिपरिको जनजीवन पनि परिवर्तन हुन थालेको छ ।

पहिले साना किसानहरूले उत्पादन गर्ने दूधको बजार सुनिश्चित थिएनन । धेरै दूध उत्पादन हुन नसक्दा डेरी उद्योग चल्न सक्ने अवस्था   थिएन । तर अब सहकारीले धेरै दूध उत्पादन गरेपछि साना किसानपनि हौसिएका छन् । लुर्इंटेल भन्छन्, “किसानहरू निराश भइरहेका बेला सहकारीले ठूलो कृषि फर्म सुरु गरेपछि सबैतिर आशा पलाएको छ । धेरै दूध उत्पादन भएपछि अब नियमित डेरी उद्योग चल्ने भएपछि साना किसान समेत लाभान्वित भइरहेका छन् ।”

नमुना गाई फर्मले फेरेको अवधारणा

नेपालका धेरै क्षेत्रमा स्थानीय जातका गाई परम्परागत शैलीमा पालन हुँदै आएको छ । दुधौली क्षेत्र पनि यसबाट अछुतो छैन । पशुपालन जनजीवनको अभिन्न अंग भए पनि यसलाई तत्कालै व्यावसायीक रुपमा लैजान ज्ञानको अभाव छ ।

जब नमुना सहकारीले नयाँ जातको गाई भित्राएर दूध उत्पादन सुरु गर्‍यो वरीपरीका गाउँका गाउँलेको पनि गाइपालनप्रतिको अवधारणा फेरियो । मानिसहरू विस्तारै स्थानीय जातका गाइसँगै उन्नत जातको गाई पालनमा लागेका छन् ।

पहिले मानिसहरुलाई थाहै थिएन कि कुन जातको गाई ल्याउँदा फाइदा हुन्छ भनेर सबै स्थानीय जातको गाई भित्राउने क्रम सुरु भएको छ । अब व्यक्तिगत रुपमा गाई पालनका लागि पनि हामीसँग सल्लाह गर्ने र धेरै दूध उत्पादनका लागि होलिस्टीन,जर्सी गाई भित्राउने क्रम सुरु भएको छ,” लुइटेलले थपे ।

सहकारीले सिकेको ज्ञान

सहकारीले सुरुमै दूध दिने गाई किन्यो । धेरैजसो गाईले दूध दिन्थे तर किनेका सबै गाई एकै पटकजसो ब्याउने भएपछि अहिले दूध उत्पादनको मात्रा घटेको छ ।

सहकारीका अध्यक्ष रुद्रदीप उपाध्ययले भने, “अहिले धेरैजसो गाई ब्याउने भएकाले २२ लिटर मात्रै उत्पादन भएको छ । अब केही समयमा दैनिक २०० लिटर उत्पादन गरेर बजार पुर्‍याउने लक्ष्य छ ।”

सहकारीले एकै पटक दूध दिने गाइमात्रै खरिद गर्दा घाटा हुने निष्कर्ष निकालेको छ । त्यसैले बाच्छा किन्ने वा फर्ममै बाच्छा उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । व्यवस्थापक लुईंटेलले भने, “एकैचोटी दूध दिने गाई किन्दा अहिले समस्या भयो, अहिले सबै ब्याउँने भएपछि दूधको मात्रा घट्यो त्यसैले अब हामी बाच्छा खरिद गर्ने र आफ्नै फर्ममा बाच्छा खरिद गर्ने निर्णयमा पुगेका छौं ।”

फर्ममा अहिले ३५ वटा गाई छन् । छिट्टै १ सयवटा पुराउने लक्ष्य रहेको अध्यक्ष उपाध्ययको भनाई छ । आफै फर्ममा बाच्छा उत्पादन गर्दा हावापानी अनुकुल हुने र विरामी नहुने भएकाले गाई खरिद गरेर ल्याउने भन्दा पनि उत्पादन गर्नमै सहकारीको जोड छ ।

बागमती प्रदेश सरकारले २०७६/७७ मा सझेदारीमा गाई पालन अन्र्तगत प्रदेशका २ सहकारी र २ गाई फार्मलाई अनुदान दिएको थियो । जसमा सिन्धुलीको दुधौली नगरपालिकामा रहेको श्री नमुना कृषि सहकारी संस्था लिमिटेड रहेको थियो । समूहिक खेती, होमस्टेमा हालत हालिरहेको यस सहकारी नुमना गाईपालनमा पनि नमुना योेग्य काम गर्दै गएको छ । व्यवस्थापक लुईटेलले गर्वका साथ सुनाए,“ दूधौली नगरपालिकाको वडा नं २ को कार्यालय आएपछि हाम्रो फर्मबारे जसले पनि भनिदिन्छ ।”

प्रदेश सरकारको प्राथमिकतामा

बागमती प्रदेश सरकारले सहकारीमार्फत् अनुदान वितरण गर्ने कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा पनि गाईपालनमा अनुदानका अलावा प्रदेश भित्रका दूध उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गर्ने कार्यक्रम लागू गरेको   छ ।

सहकारीमा आवद्ध प्रदेश भित्रका किसानले प्रतिलिटर २ रुपैयाँका दरले अनुदान पाउने निश्चित भएको हो । मन्त्रालय मातहतको पशुुपन्छी तथा मत्स्य विकास निर्देशनालयले चालू आवमा अनुदान वितरण प्रक्रिया अगाडि बढाएको हो ।

निर्देशनालयले आव्हान गर्दा आवदेन दिने र तोकिएको मापदण्ड अनुसार परेका चितवन जिल्लाबाट ७६, मकवानपुरबाट ३७ वटा, काभ्रपलाञ्चोकबाट ३१, ललितपुरबाट २२, सिन्धुपाल्चोकबाट ३, धादिङबाट २, सिन्धुलीबाट २, रामेछापबाट १ वटा गरी कुल १७८ सहकारीले अनुदान पाएका हुन् ।

अर्थतन्त्र र पोषणमा दुग्ध क्षेत्रको योगदान

दुग्ध क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा पनि उच्च योगदान रहेको छ । कुल ग्राहस्र्थ उत्पादनमा पशुपालन क्षेत्रको मात्र योगदान १२ प्रतिशत छ भने दुग्ध क्षेत्रको मात्र योगदान ९ प्रतिशत छ ।

पोषणको दृष्टिकोष्णले पनि दुग्ध पदार्थको महत्व रहेको छ । दुग्ध उद्योगमा मात्र करिव ३० अर्वको लगानी रहेको छ भने ग्रामीण किसानको नगद आर्जनको स्रोत पनि यो क्षेत्र रहेको छ । पशुपालनबाट मलमुत्रसमेत उत्पादन हुने भएकाले कृषिका अन्य उत्पादनमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

 



प्रतिक्रिया दिनुहोस !